|

सुशील सुवेदी

स्याङ्जा : स्याङ्जाको चापाकोटका मेयर शिव कुमार गिरीसहित सरकारी सवारी साधनमा सवार समूहले फेरि युवालाई कुटपिट गरेको छ। आइतबार राति करिब १० बजे वालिङ नगरपालिका हुँदै चापाकोट नगरपालिका जाँदै गरेको सेतो नं प्लेटमा सवार युवा समुहले वालिङ बजारमा एक युवालाई कुटेका हुन्‌।

​ग १ झ ३३३ नं को सवारी साधनमा मेयरसहित आएका युवाहरुले वालिङ ९ का जितेन गुरुङलाइ कुटेर घाइते बनाइ फरार भएका छन्‌। मेयर गिरीसहित सरकारी सवारीमा सवार राजकुमार मल्ल, लाल ब. थापा, प्रदिप गिरी र सुनिल एसकेलाइ किटानी जाहेरी दिने तयारी भैरहेको घाइते गुरुङले बताए।

सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ नपा-८ को घुम्तीमा एक्कासि गुरुङलाई कुटेपछि उनको आँखा र टाउकोमा चोट लागेको छ। स्थानीय प्राथमिक अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारको गुरुङलाई रिफर गरिएको छ। 

पसलमा सामान किनिरहेको बेला अचानक फिल्मी शैलीमा आक्रमण भएको बताउँदै गुरुङले भने, ‘अर्को पालिकामा समेत प्रवेश गरेर कुटपिट गर्ने मेयरको समूहबाट चापाकोटवासी कति सुरक्षित होलान्‌ भन्ने लागेको छ।’

मेयरको उपस्थितिमा भएका शृङ्खलाबद्ध घटनाहरु 

संघीय निर्वाचनमा हातपात
मुलुकको शासन व्यवस्था परिवर्तनसँगै ३ तहमध्ये पहिलो चरणमा स्थानीय तहको निर्वाचन भयो। दोस्रो चरणमा संघीय र प्रादेशिक निर्वाचन भयो। स्याङजाको क्षेत्र नं २ मा तत्कालीन उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र बहालवाला भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालबीच प्रतिस्पर्धा थियो।

आफ्नो निर्वाचन क्षेत्रमा बुथ निरीक्षण गर्न गएकी अर्यालमाथि चापाकोट नगरपालिकाको मेयर शिव कुमार गिरीकै अगाडि हातपात भयो।

रारा भ्रमण घटना
करिव एक बर्ष अगाडी चापाकोटको मेयरसहितको टोली रारा भ्रमण गरेर फर्किँदै थियो। कालिकोटको सनलाइट होटलमा मादकपदार्थ सेवन गरी सोही होटलमा बस्ने भक्तपुरको युवाहरू र मेयरको टोलीबीच झडप भयो।

त्यतिखेर मेयरको टाउकोमा चोट लागेको थियो। 

राहत वितरणमा युवामाथि कुटपिट

कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनमा देशभरका स्थानीय तहहरूले राहत वितरण गर्दै थिए।

चापाकोट नगरपालिकाले प्राथमिकताका साथ राहत वितरण गरिररहेको थियो। राहत वितरण गर्न मेयरसँगै गएका युवाको समुहले चापाकोट ६ का सुमन विकलाई कुटपिट गरेर घाइते बनाएको थियो।

मेयरसँगै राहत लिएर गएको समूहले युवालाई कुटेर फर्किए 

यो समाचार चैत्र २३ गते थाहा खबरले प्रकाशित गरेपछि थाहाकर्मी सुशिल सुवेदीलाई कारबाहीको माग गर्दै चापाकोट नगरपालिकाले प्रेस विज्ञप्ति नै जारी गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.