|

पर्वत : पर्वत अस्पतालमा डायलासिस सेवा सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार सेवा सुरु गरेका हुन्।

सेवा सुरु भएसँगै पर्वतका मिर्गौलासम्बन्धी बिरामी डायलासिस गराउन पोखरालगायत अन्य सहरमा रहेको अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ। पर्वत अस्पतालमा दैनिक नौजनाले सेवा लिन सक्नेछन्।

डायलसिस सेवा सुरु गर्न चारवटा मेसिन जडान गरिएको छ। एक महिनासम्म पहिलो सिफ्टमा नौजनालाई सेवा दिन सक्ने र जनशक्ति थप भएमा १८ जनालाई सेवा दिन सकिने पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए। डायलासिस सेन्टरमा दुईजना मेडिकल अफिसर, ६ जना स्टाफ नर्स र एकजना प्राविधिक छन्। 

अस्पतालमा डायलासिस मेसिन जडान गर्न गण्डकी सरकारले एक करोड ३० लाख रुपैयाँ उपलब्ध गराएको थियो भने प्रतिनिधिसभाका सदस्य पदम गिरीले स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत जेनरेटर खरिद गर्नका लागि १५ लाख उपलब्ध गराएका थिए।

अस्पतालमा सुरु भएको निःशुल्क डायलासिस सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जोड्न चार कुराहरूमा विशेष जोड दिइएको बताए। स्वास्थ्य संस्थामा जनशक्तिको उपलब्धता, भौतिक संरचना निर्माण, स्रोत र उपकरण तथा चिकित्सकहरूमा दिइने ऊर्जाले नै प्रदेशमा स्वास्थ्यको अवस्था बलियो पार्ने गरी प्रदेशले काम गरिरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.