|

काठमाडौं : काठमाडौं उपत्यकामा आज एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। किस्ट अस्पताल ललितपुरमा उपचाररत एक महिलाको मृत्यु भएको छ। काभ्रे स्थायी घर भएकी ५० वर्षीया महिलाको आज बिहान १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार निमोनिया, फोक्सोमा पानी जमेको कारण उनलाई हिजो मात्रै अस्पताल भर्ना गरिएको थियो। उनको हिजो नै स्वाब निकालिएको तर कोरोना देखिएको रिपोर्ट भने मृत्युपछि आज मात्र आएको थियो।

आजै बिहान काठमाडाैं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय वृद्धको उपचारका क्रममा मेडिकेयर अस्पतालमा मृत्यु भएको थियो। श्वासप्रश्वासमा कठिनाई तथा जिउ दुख्ने समस्या भएपछि यही साउन २३ गते राति अस्पताल भर्ना भएका उनी भेन्टिलेटरमा उपचाररत थिए। उनी निमोनिया, उच्च रक्तचाप तथा मधुमेहको समेत बिरामी रहेको मन्त्रालयले जनाएको छ। उनको साउन २४ गते स्वाब संकलन गरी परिक्षण गर्दा आजै मात्र कोरोना पुष्टि भएको हो।

यस्तै काठमाडाैंकै कीर्तिपुर नगरपालिका, ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय अर्का पुरुषको पनि बिहान ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले पुष्टि गर्नुभयो। मृर्गौलाका दीर्घरोगी उनी असार ३१ गते निमोनिया तथा सेप्टिक सक भई अस्पताल भर्ना भएकामा साउन ५ गते नै कोरोना पुष्टि भएको थियो। बाँके कोहलपुर—२ बस्ने ७० वर्षीया वृद्धाको पनि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ।

उच्च रक्तचाप तथा पारालाइसिसकी बिरामी उनी निमोनिया तथा सेप्टिक सक भई गत साउन २३ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन्। भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा उनमा कोरोना देखिएको थियो। स्वास्थ्य मन्त्रालयले पर्साको वेदियाही गाउँपालिका—१५ घर भएकी ४५ वर्षिया महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा मृत्यु भएको पुष्टि गरेको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ८० पुगेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.