'हामीले न्याय कायम गर्दैनौं भने न्यायले हामीलाई कायम राख्दैन'

|

व्यक्तिभित्र लुकेर बस्ने एउटा हिंस्रक स्वभाव हो अपराध। यो एउटा व्यक्तिले अर्को व्यक्तिमाथि जानेर गर्ने दुष्कार्य हो जसले शारीरिक, मानसिक, मनोवैज्ञानिक रूपमै हानी पुर्याउने नियत राख्छ। सम्पत्तिको लागि अरूलाई हानी पुर्याउँछ जो नियम र कानूनसम्मत पनि हुँदैन। 

व्यक्ति भावनात्मक रूपमै अस्थिर हुनु र त्यो व्यक्तित्व अरू माथि नकारात्मक रूपले प्रस्तुत हुनु हो जसलाई इमोसनल अनस्टेबल पर्सनालिटी डिसअर्डर भनेर पनि बुझ्न सकिन्छ। चेतनाको स्तरबाट कुरा गर्ने हो भने व्यक्तिको सोच एकदम तल्लोस्तरमा पुगेपछि आफ्नो स्वभावलाई नै बिर्सेर कसैमाथि हैकम जगाउन खोज्ने प्रवृत्ति हो। 

आध्यात्मिक अर्थमा भन्नुपर्दा व्यक्तिले आफ्नो मानव स्वभाव र आत्मबाेधलाई गुमाएर अनैतिक कार्यमा प्रेरित हुने अवस्था अपराध हो। एउटा अपराधी प्रवृत्ति भएको व्यक्तिले जस्तोसुकै उमेरको व्यक्तिमाथि, जुनसुकै स्थान र भूगोलमा, जस्तोसुकै फाइदाको लागि जस्तो पनि कार्य गर्न उद्धत हुन्छ। 

सानो हैसियत भएको व्यक्तिले गरेको होस् या उच्च तहको व्यक्तिले गरेको अपराध, सानो उद्देश्य हासिलको लागि होस् या ठूलो उद्देश्य हासिल गर्ने अपराधिक कार्य होस सबै अपराध नै हुन। अपराध क्षम्य हुदैन र समान अपराधमा समान  दण्ड सजाय  हुन्छ। कानुन समान हुन्छ र हुनुपर्छ।

हामी सहजै अनुमान लगाउन सक्छौं हाम्रो समाजमा राष्ट्रियता बेच्ने देखि लिएर, राष्ट्रिय भूमि माथि व्यक्तिगत कब्जा गर्न खोज्ने अनि कसैको शरीर लुट्ने, एसिड छ्याप्ने देखि लिएर मनोवैज्ञानिक असर पुर्याउने उद्देश्यले नियतवश नै अपराध गर्नेहरूको प्रवृत्ति, उदाहरण र संख्या प्रशस्तै भेटिएका छन्। न्यायालय जस्तो ठाउँमा बसेर जिम्मेवारी पूर्वक दायित्व निर्वाह गर्नु पर्नेले नै सोच्नै नसक्ने स्तरको न्याय दिएर अपराध गरिरहेका छन्। यसैलाई त भनिन्छ अपराधले न्याय पाउँदा।

निर्मला हत्याकाण्डले न्याय पाएन यसको अर्थ अपराधमाथि न्याय गरिएको छ। भर्खरै न्यायालयले गरेका धेरै निर्णय जसलाई नागरिक समाजले सिधै अन्याय भन्दै प्रतिकार गरिरहेको छ। तर सुन्ने चेष्टा सम्म गरिएको छैन किनकी यसले अपराधलाई प्रोत्साहन गर्ने नियत राखेको जस्तो समाजले महसुस गर्न पुग्यो। जुन कुरा स्वयं अदालतकै विरुद्ध छ। 

सरकारी जग्गा व्यक्तिले हडपेका उदाहरण र मुद्दा होउन् या वाइडबडी र सुन काण्डका मुद्दा, यस्ता धेरै उदाहरण छन् जो राज्यका उच्च तहका व्यक्तिको मिलेमतो र व्यक्तिगत लाभको निम्ति अपराधीलाई जोगाउने अर्थात् अपराधलाई न्याय दिने परिपाटीमा विकास हुँदै आएको छ। 

यस्ता धेरै चित्त नबुझ्दा अपराधिक न्यायको कारण न्यायालयमाथि प्रश्न, अविश्वास र शंका बढ्दै जानाले राष्ट्र, राष्ट्रियता, न्याय, नागरिक अनि राज्य बिचको सद्भाव र सम्बन्ध कसरी सुमधुर बन्ला ?

न्याय किन कायम भएन ? 

फ्रान्सिस बेकन भन्छन्( “हामीले न्याय कायम गर्दैनौं भने, न्यायले हामीलाई कायम राख्दैन।“ न्यायलाई न्यायकै रूपमा कायम राख्न र यसको सही प्रत्याभूति नागरिक सामु महसुस गराउन पनि त न्याय कायम राखेर निष्पक्ष न्याय दिने अभ्यास बढाउनु पर्यो। 

हामीकहाँ न्यायले न्याय कै अस्तित्व पाउन न्यायालयको उच्च पदमा सक्षम र इमान्दार व्यक्तिको छनौट र प्रतिष्पर्धा भन्दा पनि लोभानी पापानी नातावाद कृपावाद र दलगत र राजनीतिक निकटताको आधारमा नियुक्ति हुने सार्वजनिक भएकै कुरा हुन्। यसले न्यायको निष्पक्षतामा ह्रास आएको मात्रै होइन अविश्वास समेत सृजना हुँदै गएको छ। न्यायको कुनै विकल्प हुँदैन, न्यायको कुनै शक्ति र भनसुन अनि पक्ष विपक्ष कसको न्याय भन्ने हुँदैन।

न्याय जहाँ जसलाई आवश्यक उसैलाई दिने सर्वोपरि अभ्यास हुनुपर्दछ। विषय र उजुरी अनुसार मुद्दा लड्ने व्यक्तिहरू र समूहबीच पक्ष विपक्ष होला तर न्याय आफैंमा पूर्णता बोकेको सत्य हो। विना कसुर अन्याय खेपेकोले कानुन र प्रमाण अनुसार न्याय पाउनु पर्छ। 

यो कानुनी विज्ञता हासिल नगरेको सामान्य नागरिकले बुझेको र उसलाई चाहिएको न्याय हो। न्याय आफैंमा महत्वपूर्ण शक्ति हो, कसैको आड, भरोसा र स्वार्थ मिसिएको शक्ति कसरी शक्ति हुन्छ रु अरूको सहारामा दिनुपर्ने न्याय, न्याय होइन कमजोरी हो। निष्पक्षता र निष्पक्ष न्याय दिनसक्ने व्यक्तिको गुणवत्ता पो शक्तिशाली मानिन्छ।

पदीय मर्यादा 

न्यायालयको उच्च पदमा रहेर राष्ट्र र जनताको सेवामा तल्लिन हुने, निष्पक्ष न्याय दिने जिम्मेवारी पाएको व्यक्तिले आफ्नो पदीय मर्यादा कायम राख्नु पर्दैन रु सर्वप्रथम आफ्नो इज्जत र मर्यादा आफ्नो हैसियतबाट आफैं राख्ने हो। 

पद उच्च तर कर्म त्यस अनुकूल नहुँदाको परिणाम सहज हुदैन नत शोभायमान नै हुन्छ। क्षणिक समयको लागि त झुक्याएरै आफ्नो शक्तिको प्रदर्शन होला तर सत्य त लुक्दैन। बादलले सूर्य छेकिँदैमा सूर्य सधैंका लागि अस्ताउने त होइन। हाम्रो समाजमा केहि बादलरूपी तत्वहरुले सत्यताको ढाकछोप गर्ने प्रयासलाई निरन्तर अभ्यास गरिरहेका छन् । यो कहिलेसम्म टिक्ला ?

नागरिकले न्याय नपाउनु भन्दा ठूलो अपमान र अपराध त आफ्नो पदीय दुरूपयोग हुनेछ। यो समझको विकास हुन के कुराले छेकेको हुन्छ ? अदालतमा बसेर आफ्नो पदको अभिमान गर्नेले, म केहि हूँ र छु भन्नेले आफ्नो चेतनालाई सर्वोच्च बनाउनु पर्छ। अनि मात्र अदालत र त्यहाँबाट दिइने न्याय सर्वोच्च हुन सक्छ।

आफ्नो जीवनको उत्तरार्द्ध र परमार्थको बोध गर्ने बेलामा पश्चाताप हुँदैन र अवश्य हुन्छ ? त्यो पश्चाताप नहुनेगरी कर्म गर्न किन आफैंबाट प्रेरित नहुने ? सम्मानित निकायको सम्मानित पदलाई आफैंले अपमान गर्ने ? नागरिकले यसको मूल्यांकन गरेका हुन्छन् नि ? शिक्षित, आफ्नो पेशामा कुशल र सबैको प्रिय बन्न चाहनेले आफ्नो पदीय मर्यादा कायम राख्न किन चुक्ने होला ?

कानुनको अपव्याख्या

धेरै मुद्दाहरू कानुनको अपव्याख्या गर्दै निर्णय भएका हुन्छन्, के यसले कानुनको अपमान हुँदैन ? कानून त्यस्तो विषय हो जुन हाम्रो दैनिक जीवनमा हरेक आयामले स्पर्श गर्दछ। व्यक्तिले  के गर्न सक्दछ र के गर्न सक्दैन भन्ने कुराको संचालन र नियमन गर्दछ।  

कानुन त्यो हो जसलाई अन्याय र विवादहरूको समाधान गर्न, सजाय दिन र शासन गर्न प्रयोग गरिन्छ। मनोवैज्ञानिक, व्यक्तिगत, सामाजिक, राजनीतिक र आर्थिक जीवनमा केन्द्रीय भूमिका खेल्ने र अन्यायबाट न्यायको मार्गमा प्रेरित गर्ने माध्यम नै कानुन हो। यो कानुन लिखित रुपमा कागजमा सिमित रहेर या शक्तिको आडमा अपव्याख्या गरेर प्रयोग गरिने विषय होइन। कानुनको पालना गर्ने प्रत्येक नागरिक, न्याय दिने व्यक्ति र संस्थाले अपनाउनुपर्ने आफ्नो अनुशासन, नियम, आचरण, स्वभाव र आत्मनुशासन कानुन बन्नुपर्दछ र वास्तवमा यहि हो पनि। न्याय दिने र कानुन पालना गर्ने व्यक्तिको आचरण सही भएन भने यसको दुरुपयोग हुने रहेछ त्यो धेरै आधारमा हाम्रो समाजमा प्रष्ट भैसकेको छ। 

जनआस्था, जनभावना र जनमत न्याय र कानुनलाई पालना गर्ने, गराउने र सही मूल्यांकन गर्ने माध्यम हुन्। यिनको कदर नहुँदासम्म न्यायालय होस् या कार्यपालिका र व्यवस्थापिका सही ढंगले अगाडि बढ्न नसकेको अनुभूति हुन्छ। पछिल्ला दिनमा भएका केही निर्णयलाई लिएर संचार माध्यममा सार्वजनिक भएका विद्वत् विचारको विश्लेषण गर्दा एउटा कानुनी राज्य जसले आफैंमा अपमान भोगिरहेको आभास गराएको छ। 

अपराधले न्याय पाएको र सत्य छिपाइएको अनुभूति भएको छ। जसले अदालत प्रति जनतामा विश्वास घट्न सक्छ। जसको दीर्घकालिन असर समाज राज्य र स्वयं अदालतले व्यहोर्नु पर्छ।

न्यायालयसँगको विश्वास 

न्यायपालिका माथि नै जनआस्था कम हुनु, न्याय न्यायकै रूपमा पाइन्छ भन्ने कुरामा शंका पैदा हुनु, न्यायालयमा विकृति र विसंगति छैन भनेर विश्वास गर्न नसकिनु, छिटो र सही तरिकाले न्याय पाइन्छ भनेर विश्वास गर्ने आधारहरू कम हुँदै जानुको कारण न्यायालयले आफ्नो विश्वास गुमाउँदै गएको छ। 

विधि र विधानले मात्र न्यायालय चलेको छैन, शक्तिको आडमा चल्छ भन्ने जनभावना बढ्दै जानु भनेको राजनीतिक आस्था र यसको अकर्मण्यता अनि अस्थिरताको उपज पनि होइन र? नागरिक मतलाई प्रतिकूलता बनाएर अपराध प्रवृत्तिलाई न्याय दिनुपर्ने बाध्यता किन ? 

न्यायालयको सम्बन्ध नागरिकसँग कि राजनीतिक दलसँग र ? न्यायालय र न्यायाधीशको न्यायिक कार्यक्षमता र आचारसंहिताको मूल्यांकन कसरी हुने रु यस्ता मानवीय प्रश्न र जिज्ञासा उब्जाउन बाध्य बनाउने न्यायालय र न्यायको परिपाटीमा छिटो भन्दा छिटो सुधार गरिनुपर्छ। नत्र अपराधले न्याय पाउनेछ, अन्याय र अत्याचार अरू बढ्दै जानेछ। र, फेरि भन्छु अपराधले न्याय पायो भने अदालत माथि अन्याय हुन्छ र  अदालत माथि अन्याय भए अशान्ति र विद्रोहको जन्म हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.