संक्रमित भन्छन्‌ : ‘अब अस्पताल जान्छौं’

|

काठमाडौं : 'केही समस्या? तपाईलाई साह्रो-गाह्राे भयो भने भन्नु है! हामी गाडी लिएर लिन आउँछौ,' काठमाडौं महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कर्मचारीले काठमाडौं महानगरपालिका वडा-५ मा होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितलाई सोध्ने भनाइ हो यो। यतिखेर ५५ वर्षीय संक्रमित पुरुष होम आइसोलेसनमा बसिरहेका छन्।

घरमा बस्दा स्वास्थ्यकर्मीले राम्रो निगरानी नगरेकाले संक्रमित पुरुष अस्पताल जाने तयारीमा छन्। उनलाई बेला-बेलामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभागका कर्मचारीले केही समस्या पर्‍यो कि भनी सोध्ने गर्छन्।

गत बुधबार परीक्षण स्वाब संकलन गरी शुक्रबार परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो। नेपाल प्रहरी मुख्यालयमा कार्यरत एक प्रहरी उनको घरमा भाडामा बस्थे। प्रहरीमा कोरोना पुष्टि भएपछि घरका सदस्यमा परीक्षण गर्दा उनमा पनि कोरोना भएकाे पाइयाे। 

'कोरोना पुष्टि भएको छ, सामान्य लक्षण भएकोले घरमा बसेर उपचार गरिरहेको छु', संक्रमित पुरुषले भने, 'ज्वरो ९९ देखि १०० डिग्रीसम्म पुग्छ, बढने र घट्ने भइरहेकाे छ।' 

घरमा बस्दा छुट्टै फ्ल्याट प्रयोग गरिरहेको उनले बताए। घरमा तीन जना संक्रमित बसेको शौचालय वा भाँडाकुँडा प्रयोग गरेपछि स्यानिटाइज गर्ने गरेको उनी सुनाउँछन्। सोही घरमा रहेका अन्य २ जनाले पहिले अस्पतालमा गएर उपचार गराइरहेका छन्।

'दाल-भात, तरकारी,मासुको सुप र बेसार पानी खाइरहेको छौं,' उनले भने, 'सिटामोल, भिटामिन र सामान्य औषधि खाइरहेको छौं।' घरमा बसेका संक्रमितलाई प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा राख्ने भनेपनि कुनै दिन चिकित्सक नआएको उनले बताए।

घरमा बस्नुभन्दा अस्पतालमा गएर उपचार गराउन सहज हुने उनको अनुमान छ। अस्पतालमा बस्दा स्वास्थ्यकर्मीले निगरानी गर्ने तर,घरमा कोही पनि नआएका उनले गुनासाे गरे। घरमा बस्दा खानेकुरा पनि बाहिरबाट दिने गरेको उनको भनाई छ।

'होम आइसोलेसनमा बस्दा सहज महसुस भइरहेको छैन,' उनले भने,' आज अस्पताल जान्छौं। सरकारले भनेजस्तो होम आइसोलेसनको व्यवस्था भए पनि घरमा गुम्सिएजस्तो भइरहेको छ।'

'सरकारले भनेजस्तो होम आइसोलेसनको व्यवस्था गरेर बसेका छौं, तर पनि यहाँ असहज भइरहेको छ,' उनी थप्छन्। स्थानीय सरकारले प्रत्यक्ष निगरानी गर्ने भनेको भएपनि अहिलेसम्म वडाको प्रतिनिधि कसैले सम्पर्क नगरेको उनले जानकारी दिए।

बिजुली बजारमा पनि ७६ वर्षीय पुरुष पनि होम आइसोलेसनमा छन्। उनी घरको फ्ल्याटमा एक्लै बस्छन्। परिवारको सदस्यले खाना लगेर दिन्छन्। शौचालय र बाथरुम एक्लै प्रयोग गरी बसिरहेका छन्।

संक्रमितका छोरा भन्छन, 'महानगरका कर्मचारीले फोन गर्छन्। स्वास्थ्यकर्मी कोही पनि आउँदैनन्। सरकारको तर्फबाट कोही पनि मानिस निरीक्षण गर्न आएका छैनन्। सरकारले बोल्ने र घोषणा मात्र गर्छ। बोलेको केही कुरा पुर्‍याउँदैन।'

अहिलेसम्म बाबुको स्वास्थ्यमा समस्या नआएको उनले बताए। ज्वरो ९८ देखि ९९ डिग्रीसम्म आउने गरेको उनले जानकारी दिए। बेला-बेलामा सामान्य खोकीदेखि अन्य केहीपनि लक्षण नदेखिएको उनी बताउँछन्।

'संक्रमितको सम्पर्कमा छौं'

महानगरभित्र रहेका सबै संक्रमितको दैनिकजसो स्वास्थ्य अवस्था बुझ्ने गरेको काठमाडौं महानगरपालिकाका कोरोना फोकल पर्सन ज्ञानु वली बताउँछन्। उनले भने, 'सरकारले तोकेको होम आइसोलेसनको मापदण्ड पुर्‍याएर संक्रमित बसेका छन्। स्वेच्छाले बस्न सहज हुन्छ भनेपछि घरमा बस्न अनुमति दिइएको हो।'

संक्रमितलाई गाह्राे हुन्छ भनी बारम्बार फोन गरी सम्पर्क गरिरहेको उनले बताए। महानगरको तर्फबाट संक्रमितको हेर विचारमा कुनै पनि कमी आउन नदिएको उनको दाबी छ। 

काठमाडौंमा देखिएका संक्रमित अधिकांश भाडामा बस्नेहरु रहेका वलीले जानकारी दिए। 'एउटै कोठा र फ्ल्याटमा बस्ने मानिसले शौचालयको प्रयोग गर्ने गरेको पाइएको छ,' उनले भने, 'संक्रमितलाई घरमा राखी उपचार गर्न समस्या हुन्छ।'

'संक्रमितलाई गाह्राे भए अस्पतालमा भर्ना गराउँछौ'

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौं उपत्यकामा होम आइसोलेसनमा बस्नेको संख्या ६० पुगेको छ। काठमाडौंमा ४३, भक्तपुर ११ र ललितपुरमा ६ संक्रमित घरमा बसेर उपचार गराइरहेका छन्।

कोरोना पुष्टि भएको र संक्रमितको स्वेच्छाले लक्षण नभएकालाई घरमा बस्न अनुमति दिएको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन्। संक्रमितको स्वास्थ्य अवस्था बिग्रिएमा अस्पतालमा भर्ना गराइने उनले बताए।

संक्रमितमा लक्षण नभएकालाई मात्र होम आइसोलेसनमा राखिएको उनको भनाई छ। स्वास्थ्यकर्मीले निगरानी गरिरहेको उनले बताए। 'यो रोग महामारीको रुपमा रहेकोले महाशाखा चनाखो भएर काम गरिरहेको छ,' उनले भने, 'कुनै पनि संक्रमितलाई स्वास्थ्यकर्मीले अनुगमन नगरेको भए सम्बन्धित स्थानीय सरकारका स्वास्थ्यकर्मीलाई पनि भनिन्छ।'

सरकारले होम आइसोलेसनमा बस्नेबारे हतारमा निर्णय गर्‍यो

सरकारले होम आइसोलेसनमा बस्ने व्यवस्थापन राम्रोसँग गर्न नसकेको जनस्वास्थ्यविद् डा. किरण राज पाण्डे बताउँछन्। संक्रमितलाई सरकारले घरमा राखी उपचार गरिने निर्णय हतारमा गरेको जस्तो देखिएको उनले बताए।

'नेपालजस्तो सामाजिक व्यवस्था भएको देशमा होम आइसोलेसनमा बस्दा अझ बढी संक्रमित बढने देखिन्छ,' उनले भने, 'एकै घरमा धेरै परिवार हुन्छन्। आइसोलेसनको लागि छुट्टै र व्यवस्थित कोठा हुनुपर्छ।' संक्रमितको निगरानी विभिन्न माध्यमबाट गर्न सकिने उनले बताए। फोन र इन्टरनेटबाट पनि संक्रमितको ख्याल गर्न सकिने उनले सुझाए।

प्रश्नमा उनी भन्छन, 'लक्षण नभएका संक्रमितलाई घरमा राखेर उपचार गर्नुपर्छ। घरमा बस्नु भन्दैमा सरकार असक्षम छ भन्न मिल्दैन। किनभने लक्षण भएकाले बेड नपाइरहेको अवस्थामा यो विधि राम्रो हो। तर, सरकारले संक्रमितको लक्षण छैन भन्दैमा बेवास्ता गर्न मिल्दैन।'

'सरकार जिम्मेवारीबाट भागेको छैन '

लक्षण नभएका संक्रमितलाई मापदण्डसहितको होम आइसोलेसन ठीक छ भनेर सरकारले बस्न अनुमति दिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम बताउँछन्। स्थानीय सरकारले संक्रमितको अनुगमन गरिरहेको उनले बताए। संक्रमितलाई घरमा राख्न अनुमति दिएसँगै सरकार आफ्नो जिम्मेवारीबाट भागेको भन्न नमिल्ने उनी बताउँछन्‌।

उनले भने, 'संक्रमितलाई घरमा बस्दा गाह्राे भए अस्पतालमा भर्ना हुनुहोस्‌। सरकारको क्षमता अनुसार संक्रमितलाई हेरविचार तथा उपचार गरिरहेको छ। संक्रमितको उपचारमा कमी आउन दिन्नौँ।'

सरकारले उपचार गर्छ भनेर नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई बेवास्ता गर्न नहुने उनले बताए। सबैभन्दा बढी नागरिक जिम्मेवार हुनुपर्ने बेला आएकाले होम आइसोलेसनमा सरकारले भनेजस्तो मापदण्डको हुनुपर्नेमा उनले जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.