अजरबैजानका राष्ट्रपति इलम अलिएभले पत्नी मेहरिबानलाई उपराष्ट्रपति पदमा नियुक्त गरेका छन्।
पूर्व सोभियत सङ्घ अधिनस्थ र पछि गएर स्वतन्त्र भएको राष्ट्र अजरबैजानमा गत सेप्टेम्बर महिनामा सम्पन्न जनमत सङ्ग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई नै उपराष्ट्रपति चयन गर्ने जनादेश दिएको थियो।
उक्त अधिकारको प्रयोग गर्दै राष्ट्रपति अलिएभले विगतमा सांसद र एउटा गैह्रनाफामूलक सामाजिक सेवा संस्थाकी प्रमुख भइसकेकी ५२ वर्षीया प्रथम महिला मेहरिबानलाई उपराष्ट्रपति पदमा नियुक्त गरेको एपीले जनाएको छ।
विभिन्न राष्ट्रिय कार्यसूची राखी गत सेप्टेम्बर महिनामा सम्पन्न सो जनमत सङ्ग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिको पदावधि पाँच वर्षबाट सात वर्ष पुर्याइएको थियो।
संबिधानको यस्तो संशोधनबाट अजरबैजानमा वर्तमान राष्ट्रपतिलाई उनको पद पैत्रिक सम्पत्ति वा पेवा सरह बनेको थियो। राष्ट्रपति अलिएभले यस पद सन् २००३ मा आफ्ना पिताको विरासतको रुपमा प्राप्त गरेका हुन्।
पूर्व सोभियत सङ्घबाट अजरबैजान स्वतन्त्र भएपछि उनका पिताले केही वर्ष देशको कम्युनिस्ट पार्टी प्रमुखको जिम्मेवारी बहन गरेका थिए। त्यसपछि तत्पश्चात् भएको महानिर्वाचनमा पहिलो राष्ट्रपति बनेर तीन दशकसम्म मुलुकको सत्ता सम्हालेका थिए।
वर्तमानमा ऊर्जा आपूर्ति तथा सुरक्षाको चासोका मामिलामा पश्चिमी राष्ट्रहरु (युरोप तथा अमेरिका) सँग आफ्नो मुलुकलाई अत्यन्त निकटमा राखी रुसी प्रभावबाट टाढा राख्न ५५ वर्षीय राष्ट्रपति अलिएभ सफल छन्।
यसैका कारण अजरबैजानमा कुनै अशान्ति वा राजनीतिक अस्थिरता देखा परेको छैन। यद्यपि, मानव अधिकार उल्लङ्घन वा दुरुपयोग गरेको तथा आफ्ना आलोचक वा विरोधीलाई बलजफ्तीपूर्वक थिचोमिचो गरेको आरोपमा उनको सरकारले लामो समयदेखि पश्चिमा राष्ट्रहरुको आलोचना खेप्नु परेको छ।
जनसङ्ख्याका हिसाबले अजरबैजान सिया समुदायका मुसलमानहरुको बाहुल्यता रहेको र प्राकृतिक ऊर्जाले धनी मुलुक हो।
अजरबैजानको संविधानमा उपराष्ट्रपतिमा के कति शक्ति निहित रहने भन्ने प्रष्ट अधिकार नतोकिए पनि देशको मन्त्रीमण्डललाई नियन्त्रण गर्न सक्ने अधिकार हुने अनुमान गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।