|

कञ्चनपुर : बलौरी नगरपालिका–७ मा खाती दम्पतीको हत्या उनकै छिमेकीले गराएको खुलेको छ। बेलौरी भगतपुरका घनश्याम खाती र उनकी पत्नी बेलीदेवीको १० दिनअघि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।

धारिलो हतियार प्रहारबाट बेलीदेवीको घटनास्थलमै र घनश्यामको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो। उनीहरुको छिमेकी प्रकाश ऐरले कृष्णपुर–२ वाणीका रवि रानालाई चार लाख रुपैयाँ दिएर खाती दम्पतीको हत्या गराएको खुलासा भएको छ।

छिमेकी ऐरले खातीलाई बोक्सी आरोप लगाएपछि दुई परिवारबीच सम्बन्ध बिग्रिएको खुलेपछि प्रहरीले त्यसैका आधारमा अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनापछि अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पक्राउ गरिएको बताए।

प्रहरीले सुरुमा खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई पक्राउ गरेको थियो। छोराको संलग्नता नपाएपछि प्रहरीले उनलाई छाडेर दिनेशमाथि अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानको क्रममा ऐर परिवारसित सम्बन्ध बिग्रिएको र दिनेशले अर्का होरी रानासँग मिलेर खातीका छोरा राजेशलाई मदिरा सेवन गराएको खुलेपछि अनुसन्धान खाती परिवार बाहिर केन्द्रित गरिएको थियो।

प्रहरीका अनुसार छिमेकी ऐरको योजनामा खातीका छोरा राजेशलाई दिनेश र होरीले पसलमा लगेर मदिरा खुवाएका थिए। खातीका बुवा आमामाथि प्रहार गरेपछि मात्रै दिनेशले उनलाई मोटरसाइकलमा घर पु¥याएका थिए। ‘योजना बनाएर प्रहार गरिएको रहेछ,’ प्रवक्ता थापाले भने, ‘मदिरा सेवन गराउने, प्रहार गर्ने र त्यसपछि उनलाई घरमा पु¥याएका रहेछ।’

प्रहरी हिरासतमा छुटेका राजेशले साउन १९ मा ऐर र होरीविरुद्ध किटानी जाहेरी दिएपछि दुवैजनालाई पक्राउ गरिएको थियो। उनीहरु दुवैको वयानका आधारमा आइतबार कृष्णपुरको गुलरियाबाट रविलाई पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाको कमाण्डको प्रहरी टोली र इलाका प्रहरी कार्यालय बेलौरीले घटनाको अनुसन्धान गरेको थियो। हत्यारा खोज्न प्रहरीको कुकुर समेत प्रयोग गरिएको थियो। प्रहरीले ऐरसहित हत्यामा संलग्न सबैलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। उनीहरुमाथि ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रहरीले ऐरले रविलाई दिएको चार लाखमध्ये डेढ लाख रुपैयाँ उनको घरबाट बरामद गरेको छ। यसैगरी घट्नामा प्रयोग गरिएका दुई मोटरसाइकल समेत बरामद गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.