चितवनबाट पक्राउ कल्पनाले स्वीकारिन् अपराध

|

काठमाडौं : रोल्पाको रून्तीगढी गाउँपालिका-७ का ४५ वर्षीय कृष्णबहादुर बोहोरा र चितवनको कालिका नगरपालिका-७ की ३७ वर्षीया कल्पना मुडभरी पौडेलबीच चार वर्षअघि फेसबुकमार्फत चिनजान भयो। 

सामाजिक सञ्जालमार्फत चिनजान भएर साथी बनेका उनीहरुबीचको सम्बन्ध झाँगिदै गएपछि दुवैजना घनिष्ठ बने। बोहोरा गोंगबुस्थित एक होटलमा ८ महिनादेखि बस्दै आएका थिए। अर्कातिर कल्पना मुडभरी पौडेल टोखा नगरपालिका-१० नवज्योति मार्गमा बस्दै आएकी थिइन्। 

फरक जिल्लाका उनीहरुलाई फेसबुकले नै नजिक्यायो। फेसबुकबाट झाँगिएको सम्बन्ध बाक्लिँदै गएपछि दुवैजना एक अर्का बसेको ठाउँमा आउन जान थाले। उनीहरुको बसोवाससमेत एकअर्काको कोठामा हुन थाल्यो। 

सोमबार चितवनबाट पक्राउ परेकी कल्पनाले कृष्ण बहादुरले आफ्नो फोटो प्रयोग गरेर नक्कली फेसबुक आइडी खोलेर दु:ख दिन थालेपछि हत्यासम्म गर्नुपरेको बयान दिएकी थापाले बताए। उनका अनुसार नक्कली आइडी खोलेर बदनाम गर्न खोजेको तथा आफू अनुकुल चल्न दबाब दिन थालेपछि उनको हत्या गर्नुपरेको साविती बयान कल्पनाले दिएकी छन्। 

'हाम्रो अनुसन्धानमा उनीहरु दुई जनाबीच करिब ४ वर्षअघि फेसबुकबाटै चिनजान भएको देखिएको छ', थापाले भने, 'बोहोराको हत्याको एउटा प्रमुख कारण पनि फेसबुक नै बनेको छ। बोहोराले नक्कली आइडी खोलेर दु:ख दिन थालेपछि यति क्रुर हत्या गर्नुपरेको बयान कल्पनाले दिएकी छन्।'

घटनाको दिन 

घटना भएको दिन गत आइतवार बिहानै बोहोरा आफु बसेको होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटी चढेर कल्पनाको टोखास्थित कोठामा पुगेका थिए। त्यहाँ पुगेका बोहोरालाई कल्पनाले दही, चिउरा, मासु र भोड्का खान दिएकी थिइन्। 

उक्त खानासँगै उनले बोहोरालाई थाहै नदिइ स्लिपिङ ट्याबलेट खान दिएको बयानमा स्वीकारेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए। 

त्यसपछि बेहोस भएका उनीमाथि कल्पना जाइ लागेकी थिइन्। उनले बोहोराको अण्डकोषमा हानेर हत्या गरेको पनि स्वीकार गरेकी छन्। घटनाका क्रममा उनले बोहोराको ज्यान लिन ह्याम्मरको प्रयोग गरेको खुले छ।

शव व्यवस्थापन 

बोहोराको हत्या गरेपछि कल्पनाले आइतबार बिहानै शवलाई टोखा नगरपालिका-१० नव ज्योति मार्गमा फालेकी थिइन्। कोठामै बोहोराको टाउको र खुट्टा काटेर छुट्याएको शव मात्रै उनले सुटकेसमा फालेकी थिइन्। जहाँ उनले रातो प्लाष्टिकले बेरेको, बोराको नाम्लोसहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टाबिनाको शव फालिदिएकी थिइन्। 

त्यसपछि उनी त्यही बेलुकी बिरामी लिएर काठमाडौं आएर फर्कन लागेको एम्बुलेन्समा चितवन हिँडेकी थिइन्। चिनेकै ड्राइभरलाई फोन गरेर भाडा बुझाइ उनी चितवन पुगेकी थिइन्। 

बोहोराको हत्यापछि शव व्यवस्थापनमा कल्पनाकै छोरी पनि संलग्‍न भएको प्रहरीले पत्ता लगाएको छ। दुवैजनालाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा पक्राउ गरेर काठमाडौं ल्याइएको छ। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.