|

बारा : निजगढका युवाले मंगलबार क्रसर उद्योग बन्द गराएका छन्। युवाले निजगढ नगरपालिका–९ लालबकैया खोला छेउमा सञ्चालित आधा दर्जन क्रसर उद्योग चल्न नदिएका हुन्।
स्थानीयले चौलागाई क्रसर उद्योग, लालबकैया क्रसर उद्योग, हिमाल क्रसर, वैष्णवी क्रसर, श्री बकैया क्रसर र दंगाल ब्रोदर्श बालुवा प्रशोधन उद्योग बन्द गराएका हुन्।

लालबकैया बकैया खोला उत्खनन गरेर थुपारेको नदीजन्य पदार्थ मापदण्डविपरीत निकाल्दा बस्ती संकटमा परेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए। पटक–पटक भन्दा पनि मापदण्डविपरीत कार्य भएको पाइएकाले समस्या समाधान नभएसम्म क्रसर बन्द गराइएको स्थानीय हेमलाल श्रेष्ठले बताए।

अवैध रुपमा नदी उत्खनन गर्दासमेत नगरपालिकाले चासो नदिएको प्रकाशबस्ती टोल विकास संस्थाका अध्यक्ष सागर थोकरले जानकारी दिए। ‘सार्वजनिक जमिनमा जथाभावी रुपमा नदीजन्य पर्दाथ थुपार्ने गरेको पाइएको छ,’ उनले भने, ‘जमिनको सतहभन्दा बढी खनेर निकाल्ने कार्य रोक्ने काम भएको छैन। त्यसैले बाध्य भएर क्रसर बन्द गराएको छौं।’ 

समस्या समाधानका लागि उनीहरुले नगरपालिका, उद्योगी र स्थानीयसँग छलफलसमेत गरेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.