कन्ट्याक्ट ट्रेसिङबाटै निकालियाे १ सय २४ जनाकाे स्वाब

|

तनहुँ : श्वासप्रश्वासमा समस्या भएपछि कोरोना संक्रमितलाई पोखरा रिफर गरिएको छ। सोमबार भानु नगरपालिका–१ का ३४ वर्षीय स्थानीय कोरोना संक्रमण भएको पुष्टि भएको थियो। कोरोना संक्रमित पुरुषलाई शुक्लागण्डकी नगरपालिका स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखिएको थियो। 

उपचार केन्द्रको आइसोलेसनमा राखिएका ती पुरुषलाई ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिए। 

‘संक्रमितमा श्वासप्रश्वास र ज्वरोसमेत आइरहेको छ, बिरामीले श्वास फेर्न गाह्रो भएको र धेरै नै असहज भएको बताएपछि हामीले भेन्टिलेटर आवश्यक पर्न सक्छ भनेर रिफर गरेका छौं,’ डा.श्रेष्ठले भने, ‘बिरामी अलि सिरियस नै लागेर पठाएका छौं।’ 

स्थानीय रुपमा ठेक्कापट्टा गर्ने व्यक्तिमा कोरोना देखिएपछि भानु नगरपालिका अत्यावश्यकबाहेक सेवा पूर्ण रुपमा बन्द गरिएको छ।जिल्ला प्रशासन कार्यालय तनहुँले भानु नगरपालिकामा कोभिड १९ को संक्रमण जोखिम नियन्त्रणका लागि यातायात, पसल बन्द गर्ने निर्णयलाई कार्यान्वयन गराउन सम्बन्धित निर्देशन दिएको छ। 

स्थानीयमा कोरोना देखिएपछि मंगलबारबाट नगरपालिका कार्यालय, वडा कार्यालयहरु, संघसंस्था, बैंक तथा वित्तीय संस्था, यातायात र पसलहरु पूर्ण बन्द गर्ने निर्णय गरिएको छ।नगरपालिको उक्त निर्णयलाई कार्यान्वयन गर्न÷गराउन प्रशासन कार्यालयले सबैलाई निर्देशन दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयको पूर्ण पालना नगरेको पाइएमा संक्रमक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने जनाएका छन्। 

जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले तनहुँ जिल्लाबाहेक ट्राभल हिस्ट्री नै नभएका भानु नगरपालिकाका स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाले समुदायमा संक्रमण फैलन सक्ने सम्भावना देखिएको बताएको छ। उक्त क्षेत्रमा स्वास्थ्य सेवा र विपद् व्यवस्थापन कार्यबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ। 

कन्ट्याक्ट ट्रेसिङबाटै निकालियाे १ सय २४ जनाकाे स्वाब

ठेक्कापट्टा गर्ने स्थानीय व्यक्तिमा कोरोना पोजिटिभ भएपछि कन्ट्याक्ट ट्रेसिङ थालिएको छ। उनको सम्पर्कमा आएकाको एक सय २४ जनाको मंगलबार स्वाब नमुना संकलन गरिएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए। 

‘उनी आँबुखैरेनी, डुम्रेलगायत क्षेत्रमा पुगेको तर जिल्ला बाहिर भने यात्रा नगरेको भेटिएको छ, कामको सिलसिलामा बेशीशहरसम्म पुगेको हो कि भन्ने अनुमान गरिएको छ, त्यसै अनुरुप कन्ट्याक्ट टे«सिङ अगाडि बढाएका छौं,’ भट्टराईले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.