|

बारा : कोरोना भाइरस संक्रमण समुदायस्तरमा देखिएपछि स्थानीय प्रशासनले बारामा निषेधाज्ञा जारी गरेको छ। तर सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय नेता नै मंगलबार प्रहरी कार्यालय घेर्न सयौं कार्यकर्ता लिएर पुगेका छन्।

नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज डा. गोपाल ठाकुर इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र तामाङलाई कारबाही माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

पार्टी नगर कमिटीको आयोजनामा सिम्रौनगढमा मंगलबार प्रहरीविरुद्ध नाराजुलुस गर्दै प्रहरी कार्यालयको मुलगेट घेराउ गरेका हुन्। तामाङले केही व्यक्ति र तस्करको इसारामा लागेर तस्करीमा सहयोग गरेको, किसानले आफ्नो खेतीका लागि ल्याउने रासायनिक मल ल्याउँदा पक्राउ गर्ने, बजारमा चोरी हुँदासमेत चोर पक्राउ गर्न आलटाल गरेको नेकपाले आरोप लगाएको छ। 

नेकपाका कार्यकर्ताले कंकाली मन्दिरको प्रांगणबाट पाँच सयभन्दा बढी कार्यकर्ता तथा स्थानीयको सहभागितामा जुलुस निकालेको थियो। जुलुसमा प्रहरी निरीक्षक तामाङविरुद्ध नारा लगााउँदै सिम्रौनगढ बजार परिक्रमा गरेर इप्रकाको मुल गेटमा नाराबाजी गरेका थिए। 

प्रहरी कार्यालयको मुलगेटमा नेकपा बारा जिल्ला सदस्य श्यामकिशोर यादवको अध्यक्षतामा कोणसभा गरिएको थियो। कोणसभालाई केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज डा. ठाकुरसहित स्थानीय जिल्ला सदस्य भोजेन्द्र यादव, शेख मोतिम, बतहु यादव, राजेश कुशवाहा, तारा चन्द्र साह, गगनदेव कुशवाहा, महेन्द्र जयसवाल, देवशरण साहले सम्बोधन गरेका थिए। 

नेता डा. ठाकुरले भ्रष्ट प्रहरी निरीक्षकका कारण सिम्रौनगढ बदनाम भइरहेको र प्रहरी संगठनसमेत बदनाम भइरहेकोले गम्भीर भएर विरोध गर्नुपरेको बताए। उनले तामाङलाई तत्काल कारबाही नभए अर्को चरणको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए। 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.