दैनिकी विथोलियो, अनलाइन कक्षा अपर्याप्त

|

काठमाडौं : पुरानो सिनामंगलस्थित अक्षरा स्कुलमा अध्ययनरत सुहाना आचार्य लकडाउनअघि स्कुल जान्थिन्। अहिले ८ कक्षामा पुगेका उनी कक्षामा पढ्दै साथीसँग रमाइलो गर्थिन। कक्षा कोठामै पढ्न पाएकी थिइन्‌। ​

तर, अहिले उनको दैनिकी फेरिएको छ। कोरोना महामारीका कारण स्कुल बन्द भएको पाँच महिना भैसक्यो। त्यसो त अहिले उनी घरमै बसेर अनलाइन माध्यमबाट पढ्छिन्।

अरु समयमा घरमै बसेर दिन बिताइरहेकी छिन। सुहाना भन्छिन्‌, ‘विहानै उठ्छु, फ्रेस हुन्छु, ब्रेकफास्ट खाएपछि ९ बजेबाट अनलाइन कक्षामा बस्छु, अरु समयमा टिभी हेर्छु, चाहिने विषयवस्तु इन्टरनेटबाट सर्च गरी हेर्छु, यसरी नै मेरो दैनिकी बितेको छ।’ अनलाइन कक्षा लिएपनि कक्षा कोठामा पढेको जस्तो प्रभावकारिता नरहेको उनले सुनाइन्‌।

‘कक्षामै गएर पढ्दा शिक्षकलाई नजानेको कुरा सोध्न मिल्छ,’ उनले भनिन, ‘अनलाइन कक्षामा सोध्न मिल्दैन, स्कुलमै गएर पढ्न मन छ, तर कोरोनाबाट जोगिनुपनि पर्‍यो।’ 

अनलाइन कक्षा नहुने विद्यार्थीको दैनिकी बेग्लै

केही स्कुलले अनलाइन कक्षा सञ्चालन गरेकाले त्यहाँका विद्यार्थी अनलाइन कक्षा पढ्न पाएका छन्‌। तर, कलेज तहमा भने प्राय: अनलाइन कक्षा सञ्चालन भएको छैन। जोरपाटीस्थित कुटुम्ब कलेजमा अध्ययनरत बौद्धका अमिर लामा अहिले घरमै बसेर र्‍याक, टेबल बनाउने काम गर्छन्। ‘घरमै फर्निचर छ,’ उनले भने, ‘अर्डर आएको हुन्छ, मैले धेरैजसो टेबल र बेड बनाउँछु, अरु समयमा गेम खेलेर र पढेर दिन बिताउँछु।’

लकडाउनले गर्दा दैनिकी बिथोलिएको उनले सुनाए। उनले भने, ‘अहिले लकडाउन छैन। तर, पनि पहिलाको लकडाउनले टाइम टेबल बिग्रियो। धेरै विद्यार्थीमा अहिले गेमको लत लागेको छ।’ उनले कलेज खुले सबै विद्यार्थी र अभिभावकका लागि राहत हुने बताए। नेपालको लकडाउन प्रणाली ठिक नभएको भन्दै विदेशी प्रणाली अनुसार लकडाउन गर्नुपर्ने उनी बताउँछन्‌। थप्छन्‌, ‘यो लकडाउनले गर्दा धेरैले रोजगारी गुमाएका छन्‌, धेरैको रोजीरोटी खोसिएको छ।’

गोकर्णको हनुमान चोकस्थित सहयोगी कलेजमा अध्ययन गर्दै आएका अर्का विद्यार्थी प्रथा राईले पनि लकडाउनले कलेज बन्द भएपछि घरमै बसेर दिन बिताइरहेको सुनाइन्‌। ‘कलेज बन्द छ,’ उनले भनिन्‌, ‘कहिले पढ्छु। कहिले सुतेरै दिन बित्छ।’ उनलाई पनि कलेज गएरै पढ्न मन लागेको छ।

भन्छिन्‌, ‘कलेज जान नपाएको पाँच महिना भैसक्यो। कक्षामा साथीहरूसँगै बसेर पढ्न मन छ।’ उनले लामो समयको बन्दाबन्दीले पढाईमा असर पुर्‍याएको भन्दै अवस्था सामान्य बन्दै गएमा कलेज खोल्नुपर्ने बताइन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.