|
कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ यादव

जनकपुरधाम : सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल र उनका छोरा सन्तकुमारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार डिपीआर कामका भुक्तानीका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिँदालिँदै मेयर मण्डलका छोरा सन्तकुमार पक्राउ परेका थिए। घुस रकम मेयर मण्डलले मागेको र घुस लिन छोरालाई पठाएको पुष्टि भएकाले उनी दुवै जनामाथि मुद्दा दायर गरिएको अख्यितयारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

डिपिआर निर्माण कार्य सम्पन्न गरेको कामको भुक्तानीका लागि काटिएका चेक दिन घुस मागेको र सेवाग्राहीले नियमानुसार पाउनुपर्ने भुक्तानी नगरी दुःख दिएको अख्तियारको दाबी छ।

उक्त चेकको सो दिन अन्तिम म्याद भएको हुँदा चेक क्लियरिङ नभई चेकको म्याद नै समाप्त भएपछि हालसम्म पनि भुक्तानी सेवाग्राहीले पाउन नसकेको अख्तियारले जनाएको छ।
चेकको म्याद समाप्त भएका कारण भुक्तानी हुन नसकेकाले मेयर मण्डलमाथि बिगो ५ लाख र उनका छोरा

सन्तकुमारले ५ लाख लिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले उनीमाथि पनि बिगो ५ लाख कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबी लिई विशेष अदालतमा आरोप–पत्र दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मेयर मण्डलका छोरा सन्तकुमार र उनीसँगै रहेका जितेन्द्र महतोलाई ५ लाख घुससहित गत असार ३१ मा अख्तियार बर्दिबासको टोलीले लहान नगरपालिका २२ बाट पक्राउ गरेको थियो। तर मेयर मण्डलका छोरासँगै पक्राउ परेका जितेन्द्रको विषयमा अख्तियार मौन देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.