|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिगो विकास लक्ष्य हासिल गरेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था केही वर्षमै अन्त्य हुने बताएका छन्।

‘हाल २६ लाख युवा रोजगारी खोज्दै मुलुक बाहिर छन्। ३ करोडभन्दा केही कम जनसंख्या भएको देशमा देश निर्माण गर्नुपर्ने २६ लाख जनशक्ति बाहिर जानु अवश्य नै खुसीको कुरा होइन। त्यसकारण यस दिशामा हामीले ठोस प्रयासहरू गरिरहेका छौं। हामी केही वर्षभित्रै रोजगारीका लागि, छनोटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो,’ उनले भने, ‘बाध्यताको हिसाबले बाहिर जाने कुराको अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ। म युवाहरूलाई आश्वस्त पार्न चाहन्छु कि, तपाईंहरू अगाडि बढ्नुस्। सरकार तपाईंहरुको साथमा छ।’

युवाहरूको अभिभावकत्व, साथ-सहयोग, अवसर उपलब्ध गराउन सरकार दत्तचित्त रहेको भन्दै प्रधानमन्त्रीले सामाजिक जागरण र नीति-निर्माणका क्षेत्रमा सबैको समानुपातिक प्रतिनिधित्व रहेको भन्दै उनले खुसी व्यक्त गरे।

‘बालबालिकाको नीति निर्माणमा सहभागिता हुने भएन। उत्पादनमा सहभागिता हुने भएन। उनीहरू भविष्यका कर्णधार हुन्। उनीहरूलाई सक्षम बनाउनुपर्छ। सुरक्षामा ध्यान दिनुपर्छ। युवाहरूको सन्दर्भमा, ४० प्रतिशत युवा स्थानीय तह प्रतिनिधित्व गरिरहेका छन्। त्योभन्दा केही सानो संख्या संघीय तहमा र प्रदेश तहमा छन्', उनले भने, 'त्योभन्दा केही संख्या केन्द्रीय निकायमा छन्। अझ बढाउन जरुरी छ। बढाउँदा सन्तुलनकारी ढङ्गले नै बढाउनुपर्छ। पुरानो र नयाँ पुस्ता मिलेर नै क्षमता, अनुभव र सामर्थ्य, सबै चिजको सम्पूर्ण रूपमा प्रयोग गरेर अघि बढ्नुपर्छ।’

प्रधानमन्त्री ओलीले नेपाल प्राकृतिक सम्पदा, स्रोत-सामर्थ्यका हिसाबले अद्भूत र जीवनमय रहेको बताउँदै पछाडि रहन, गरिब हुन मिल्ने देश नै नभएको बताए।

‘म चाहन्छु हाम्रा देशका युवाहरूले रोजगारीको खोजी गर्दै या जीवनको खोजी गर्दै अन्यत्र जानु नपरोस्। हाम्रो जस्तो देश, जो विद्वान् र बहादुर पुस्ताका सन्तान भएको देश हो। जुन देश प्राकृतिक हिसाबले अत्यन्त सुन्दर छ। जुन देश अत्यन्तै उर्वर छ', उनले अगाडि थपे, 'अत्यन्तै अद्भुत, असाधारण र जीवनमय छ। विविधताले युक्त र प्राकृतिक सम्पदाले सम्पन्न छ। त्यो देश पछाडि पर्न, गरिब हुन मिल्ने देश होइन यो विडम्बना हो।'

उनले सरकारले देशमै रोजगारी बढाउने पनि बताए। 'जुन कुरा आगामी दिनका लागि हामीलाई मान्य छैन। स्वीकार्य छैन। तर, मान्य छैन, स्वीकार्य छैन भनेर हामी बिनाप्रयास बस्यौँ भने स्वीकार्न बाध्य हुनेछौं। त्यसकारण हामी हाम्रो अस्वीकार्यलाई व्यवहारद्वारा त्यस स्थितिमा पुर्‍याउनुपर्छ', प्रधानमन्त्रीले भने, 'यसका निम्ति सरकार रोजगारीका अवसर देशभित्रै सिर्जना गर्ने, युवाहरूको ज्ञान र क्षमता देशभित्रै प्रयोग हुने अवस्था सिर्जना गर्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.