|

बैतडी : बैतडीमा भारतबाट फर्केका र आरडीटी पोजेटिभ देखिएका १४४ जनाको थ्रोट स्वाब नमूना लिएपनि अझैसम्म परीक्षण रिपोर्ट आएको छैन।

करीब डेढ महिनाअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका मध्ये १४४ जनाको स्वाबको रिपोर्ट नआएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिएका छन्‌।

​मेलौली नगरपालिका ८० जना, दोगडाकेदार गाउँपालिकाका ३९ जना, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका ९/९ जना र शिवनाथ गाउँपालिकाका ७ जनाको स्वाबको रिपोर्ट नआएको हो।

स्वाब संकलन गरेर कोरोना संक्रमण भए/नभएको पुष्टि गर्न परीक्षणका लागि धनगढी पठाइएको भएपनि डेढ महिनाभन्दा बढी समय बितिसक्दा समेत रिपोर्ट नआएको जोशीले बताए। रिपोर्ट नआएका स्वाबहरू हराएको अथवा अन्यत्र कतै रिपोर्ट गएको हुनसक्ने आशंका गरिएको छ। 

समयमै रिपोर्ट नआएपछि ती नागरिक १४ दिने क्वारेन्टाइन बसाइपछि घर फर्किसकेका छन्। समयमा स्वाबको रिपोर्ट नआएपछि धनगढी प्रयोगशालालाई जानकारी गराइसकेको भएपनि स्वाब रिपोर्ट अझै आउन नसकेको हो। 

जिल्लामा अहिलेसम्म दुई हजार २८१ जनाको स्वाब संकलन गरिएकोमा ३२२ जनामा कोरोना पुष्टि भईसकेको छ। कोरोना पुष्टि भएका १५ जनाबाहेक सबैलाई डिस्चार्ज गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.