|

पर्वत : देउपुरको जस्तो खेती र पाती,
बाजुङको जस्तो गाम।

झिली र मिली दुर्लुङको डाँडा,
मोहनी लाग्ने पाङ।

पर्वतसहितका छिमेकी जिल्लामा चलेको गीतको शब्द हो यो। मिलेको फाँटमा मिलाएर बनाइएका घर, बसाइँ सरेर खासै बाहिर नगएका पाङका स्थानीयका कारण आकर्षक गाउँका रूपमा पाङलाई चिनिन्छ। प्राकृतिक सौन्दर्यताका कारण मोहनी लगाउने गाउँका रूपमा रहेको पाङको कृषि उद्यमले अब नयाँ परिचय पनि थपेको छ।

हरेक घरका टनेलमा गोलभेंडा लटरम्म फलेका छन्र कसैले पनि जग्गा बाँझो छाडेका छैनन्। एउटा टनेलबाट कम्तीमा पनि ६०÷७० हजार रुपैयाँभन्दा बढी नकमाउने कोही पनि छैनन्। कोही किसान गोलभेंडा बेच्न सदरमुकाम कुस्मा पुग्छन्, कोही क्रेता घरमै। श्रीमानको कमाइमा भर पर्दै आएका महिला सामान्य घर खर्च र सन्तानलाई कापी कलमको जोहो आफंै गर्छन्।

‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ’को रूपमा घोषणा गरेर गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कार्यक्रम लागू भएपछि पाङका झन्डै ८५ घरपरिवारको अवस्थामा उल्लेख्य सुधार आएको हो। स्थानीय देवेन्द्र सुवेदीका अनुसार गत वर्षदेखि पाँच वर्षका लागि कार्यक्रम लागू भएपछि एक वर्षकै अवधिमा कृषकले टनेल हालेर राम्रो आम्दानी गर्न सकेका हुन्। 

‘यो कार्यक्रममा गोठ सुधार, घर घरमा टनेल, करेसाबारी निर्माण, फूल रोपण र हरेक घरमा हरियो रङ लगाउने कामहरू हुन्छन्,’ उनले भने, ‘सबै वडामा त लागू भएको होइन। टार र खरीबोटका १४१ घरमा यो कार्यक्रम लागू भएको छ।’
 
एक वर्षको अवधिमा करिब ८५ घरले टनेल हाल्ने, घरमा हरियो रङ लगाउने, करेसाबारी निर्माण गर्ने र गोठ सुधारको काम गरेका छन्। १० समूह निर्माण गरेर प्रतिसमूह एउटा मिनी टिलर बाँडिएको छ। किसानहरूले नै ‘पार्वती नमुना कृषि गाउँ कृषि सहकारी संस्था’ चलाएर यसैका माध्यमबाट प्रदेशबाट आएको बजेटलाई सदुपयोग गर्ने गरेका छन्। 

वीरेन्द्र रिजालका अनुसार प्रदेश सरकारले पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष १५ लाख गर्दै ५ वर्षमा बजेट शून्य बनाएर यो परियोजना पूरा गर्दै छ। ‘यसको प्रभावकारिता त निकै राम्रो रह्यो। गत वर्ष कृषकहरूले मेरो पसलमा दैनिक २ क्विन्टल गोलभेंडा जम्मा पारेर बजार पठाए। आफ्नै तरिकाले लगेको सहित जोड्दा ३६ हजार क्विन्टलभन्दा बढी निर्यात भयो,’ उनले भने, ‘यो कार्यक्रममा नपरेका कृषकहरूलाई दुई लाखको लगानीमा ९० ओटा टनेल बाँडेका छौँ। उहाँहरूले पनि राम्रो उत्पादन गर्दै आउनुभएको छ।’

परियोजनामा परेका किसानहरूले एक पटक लगाएको बिरुवाले ६ महिनासम्म उत्पादन दिने र ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँछन्। 

‘मेरो घरमा पाँचवटा टनेल छन्। चार ओटामा गोलभेंडा र एउटामा बन्दा लगाउने हो,’ किसान लक्ष्मी पौडेलले भनिन्, ‘टनेलमा राम्रो फल्ने रहेछ। त्यसलाई ध्यान दिने हो कमाई राम्रो हुने रहेछ। मेरो घर खर्च टनेलबाटै चलेको छ। वर्षमा लगभग साढे दुई लाख जतिको फल्यो।’ घर परिवारमा जागिर भएको मान्छे नभए पनि गोलभेंडा बेचेरै चामल किन्ने गरेको उनले सुनाइन्। 

टनेलमा काउली, बोडी, गोलभेंडालगायतका तरकारी फलाउने गरेकी किसान प्रेमकुमारी पौडेलले पछिल्लो समय सामान्य खर्चका लागि श्रीमानको भर पर्नु नपरेको बताउँदै नमुना गाउँ परियोजनाले दैनिकीमा नै परिवर्तन ल्याएको बताइन्। अघिल्लो वर्ष एउटा टनेलमा ७० हजार कमाई भएको र यस वर्ष २ लाख जति कमाई हुने बताइन्। 

‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ’ कार्यक्रम अन्तर्गत नै रहेर घर आसपास र उत्पादनयोग्य भूमिमा रहेका फलफूल बाहेकका रुखहरू कटान गरेपछि गाउँमा मकै र धानको उत्पादन समेत बढेको कृषकहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.