|

जनकपुरधाम : डाक्टरको लापरबाहीले फेरी एक महिलाले ज्यान गुमाएकी छन्। बिहीबार राति जनकपुरको नव जीवन अस्पतालमा ३५ वर्षीया रुकमणी सदाले ज्यान गुमाएकी हुन्।

मृतक महिला जनकपुरधाम उपमहानगरपालिका १ की हुन्। पत्थरीको अप्रेशन गर्दा डाक्टरले लापरबाही गरेकाले दिदीको ज्यान गएको उनका भाई इन्दल सदाले आरोप लगाए। उनले भने, ‘अप्रेशन गर्ने बेलामा डाक्टरले गल्ती गरेछन्। अत्यधिक रक्तश्राव भएपछि तीन पोका रगत पनि चढाइयो। तर पनि बाँचेनन्।’ 

पेट दुखेपछि उनी साउन २५ गते अस्पताल भर्ना भएकी थिइन्। अस्पतालले तीन दिनपछि अप्रेशन गर्यो। करिब ४ घण्टा लगाएको गरेको अप्रेशन सफल भएन। इन्दल भन्छन्, ‘अप्रेशन सफल हुने र बाहिर लग्नु नपर्ने भनेका डाक्टर पछि बाहिर लग्नुपर्छ भन्न थाल्यो। तर रेफर गरेन। अप्रेशन गरेको करिब २४ घण्टापछि दिदीले दम तोडिन्।’

घटनापछि विहिबार राति करिब १० बजे आक्रोशित आफन्तले अस्पतालमा तोडफोडको प्रयास गरेका थिए। लगत्तै पुगेको प्रहरी टोलीले लाठी चार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो। तरपनि पीडित परिवारले अस्पतालको गेटको सिसा फोडेका छन्।

पीडित परिवारले घटनाको छानविन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। मृतककी भाइ इन्दल भन्छन्, ‘दोषी डाक्टरको लाइसेन्स खारेज गर्नुपर्छ।’ क्षतिपुर्ति समेत अस्पतालले दिनुपर्ने उनको माग छ। डाक्टरलाई कारबाही र क्षतिपुर्ति नदिएसम्म शव नबुझ्ने उनले बताए। मृतक महिलालाई अप्रेशन गरेका डाक्टर संजय चौधरी अस्पतालबाट फरार भएका छन्। उनलाई सम्पर्क गर्दा हुन सकेन। अस्पताल प्रशासनले पनि डा. चौधरीबारे केहि बताउन चाहेन।

ऋण लिएर उपचार

‘दिदीको पेट दुःखेपछि अस्पताल भर्ना गरेँ’, इन्दल भन्छन्, ‘तर डाक्टरले अप्रेशन गर्नुपर्छ भन्दै ६० हजार रुपैया मागे। तर घरमा रुपैया थिएन। ऋण उठाएर ३० हजार बुझाएपछि अप्रेशन गर्यो। तर डाक्टरले अप्रेशनको सट्टा हत्या गर्यो।’

उनका अनुसार मृतककी तीन छोरी र एक छोरा छन्। आमाको मृत्यु भएपछि छोरा–छोरी बिचल्लीमा परेका छन्। ‘अब कसले पाल्छन् छोरा–छोरीलाई?,’ उनले प्रश्न गरे। न घर, न जग्गा भएकाले उनी मजदुरी गरेर परिवार चलाउँदै आएकी थिइन्। उनका श्रीमान् राजकिशोर सदा पनि मजदुर हुन्।

ज्यानमारा बन्दै अस्पताल

जनकपुरका अस्पतालहरु ज्यानमारा बन्दै गएको छ। यही साता जनकपुरको रामजानकी अस्पतालमा प्रसुती गराएकी महोत्तरीकी गंगादेवी महतोको पनि डाक्टरकै लापरबाहीले मृत्यु भएको थियो। 

रेडक्रसले ओ पोजेटिभको सट्टा बि पोजेटिभ रगत दिए। त्यही रगत डाक्टरले चढाएपछि गंगादेवीको मृत्यु भयो। यो घटनामा रेडक्रस र अस्पताल दुवै दोषी छन्। प्रशासनले दुई डाक्टरलाई पक्राउ गरेपनि अनुसन्धान बिना नै रिहा गरे। त्यसपछि अस्पतालले ५ लाख रुपैया पीडित परिवारलाई दिएर घटना मिलाए।

यसअघि पनि पटक पटक डाक्टर तथा अस्पतालको लापरबाहीले विरामीको मृत्यु हुने भएको छ। समाजसेवी रोषण मण्डल भन्छन्, ‘प्रशासनकै संरक्षणमा डाक्टर ज्यानमारा बन्दैछन्।’ प्रशासनले पनि अस्पतालबाट मोटो रकम लिने गरेकाले जस्तोसुकै घटना मिलापत्र हुने गरेको उनको तर्क छ।

‘बिहीवार राति नव जीवन अस्पतालमा महिलाको मृत्यू हुनुमा पनि डाक्टरको चरम लापरबाही देखिएको छ’, उनले भने, ‘रातिदेखि नै प्रशासनले चलखेल सुरु गरिसकेको छ। 
घटनापछि उल्टै पीडित परिवारका व्यक्तिहरूमाथि प्रहरीले लाठी चार्ज गरे। यो निन्दनी छ।’ घटनाको निष्पक्ष छानविन गरी दोषी माथि कारबाही हुनुपर्छ– उनले माग गरे।

मृत्युको कारणबारे डाक्टर अनभिज्ञ

अस्पतालका डा. शरद यादवले महिलाको मृत्यु के कारणले भएको कुरा भन्न नसकिने बताउँछन्। उनको पोष्टमार्टम गरेपछि मात्र मृत्युको कारण खुल्ने उनको भनाइ छ।
‘अप्रेशनमा कुनै गडबडी भएको छैन’, उनले भने, ‘करिब ४ घण्टा लगाएर उनको पेटको अप्रेशन भयो। तर रक्तश्राव बढी भएकाले रगत पनि चढाइयो। तर उनी बाँच्न सकिन।’ ति बिरामीको मृत्यु हुनुमा अस्पताल र डाक्टर दोषी नरहेको उनको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.