|

सोलुखुम्बु : सोलु दुधकुण्ड नगरपालिका–२ का स्थानीयले भालु धपाउने यन्त्र निमार्ण गरेका छन्। किसानहरुले भालु धपाउन प्रयोग हुने उपकरण निर्माण गरी सफल परीक्षण समेत गरेको वडाध्यक्ष मिङमार शेर्पाले बताए।

पहिलो चरणमा १० वटा यन्त्र निर्माण गरिएको शेर्पाले बताए। माथिल्लो क्षेत्रको अधिकांश क्षेत्रमा बर्खा याममा भालुले आतंक मच्याउने गरेको छ। गत वर्ष मात्रै भालुको आक्रमणबाट छजना घाइते भएका थिए। उनीहरुले केही दिनअघि मात्रै डिभिजन वन कार्यालय सोलुखुम्बुमार्फत राहत रकम बुझेका छन्। यस्तै, आर्थिक बर्ष २०७५÷७६ मा नौजना भालुको आक्रमणबाट घाइते भएका थिए।

घर नजिकै बारीमा लगाएको खेती भालुले नष्ट गर्ने भएपछि यहाँका स्थानीय मकै पाक्ने समय रातभरि जाग्रम बस्ने गरेका छन्। घाँस काट्न गएको बेला भालुकै निसानामा पर्ने गरेका छन्। उनीहरुले बारम्बार भालु नियन्त्रण गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयसँग माग समेत गर्दै आएका छन्। 

भालुको आतंकले स्थानीय त्रसित भइरहेका बेला यस यन्त्रले ठूलो सहयोग गर्ने वडाध्यक्ष शेर्पाले विश्वास व्यक्त गरे। कुनै पनि जंगली जनवारलाई मार्न वा क्षति पु¥याउन नपाइने नीति भएकाले भालु धपाउन र बाली संरक्षणका लागि उक्त उपकरण सहयोगसिद्ध हुने शेर्पाले बताए।

‘एउटा यन्त्र निर्माणको लागि करिब दुई हजार रुपैयाँ मात्र खर्च लाग्ने रहेछ,’ वडाध्यक्ष शेर्पाले भने, ‘यसको जोखिम समेत कम हुने भएकाले उपयोगी नै छ जस्तो लाग्छ।’

डिभिजन वन कार्यलय सोलुखुम्बुले यन्त्र निमार्णका लागि कच्चा पदार्थ पाइप, कार्बोहाइडेट र लाइटर उपलब्ध गराएपछि स्थानीयले निर्माण गरेको कार्यलयका सूचना अधिकारी डम्बर भण्डारीले बताए। परीक्षण सफल भएमा यन्त्र निमार्णलाई प्रथामिकता दिने डिभिजन कार्यलयले जनाएको छ। 

वडाध्यक्ष शेर्पाले भने वडाभित्रका १०० घरधुरीलाई उक्त यन्त्र वितरण गर्ने योजना बनाइएको बताए। राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको नमुनालाई आधार बनाएर तयार गरिएको उक्त यन्त्रले बादर धपाउनदेखि अन्य जंगली जनावरलाई धपाउन समेत सहज हुने स्थानीयको भनाइ छ।

सोलुदुधकुण्ड नगरपालिका, माप्यदुधकोशी, थुलुङदुधकोशी, सोताङ, महाकुलुङ र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको माथिल्लो क्षेत्र भालुको जोखिम क्षेत्र मानिन्छ। बर्सेनि भालु, दुम्सी, मृग, घोरललगायत जंगली जनावरले बाली नष्ट गरेपछि अधिकांश जग्गा बाँझो बन्न थालेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.