|

दमक (झापा) : कोरोना भाइरस संक्रमण फैलिएको भन्दै झापाका अधिकांश हाटबजारहरु बन्द गरिएको छ। विभिन्न स्थानीय सरकारहरुले संक्रमणको विश्लेषण गर्दै साप्ताहिक रुपमा सञ्चालन हुँदै आएका हाट बजार बन्द गरेका हुन्। छिमेकी जिल्ला मोरङमा संक्रमित बढेसँगै झापाका स्थानीय तहहरुले समेत भीडभाड हुने स्थानहरुमा कडाई गर्दै साप्ताहिक हाटबजार बन्द गराउने निर्णय गरिएको हो।

कमल गाउँपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै हाट बजार बन्द गराउने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष मेनुका काफ्लेका अनुसार कोरोनाको संक्रमण चुनौती बनेका कारण मानिसहरुको भीडभाड हुने हाट बजारहरु हाललाई बन्द गराइएको हो। कमलका गेउरिया, मंगलबारे, केर्खा लगायतका बजारमा साप्ताहिक हाट लाग्दै आएको छ।

यस्तै, गौरादह नगरपालिकाले पनि सबै हाट बजार बन्द गराएको छ। गाउँपालिकाकै विभिन्न वडामा संक्रमणको उच्च जोखिम देखिएकाले हाललाई हाट बजारहरु बन्द गराइएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए। 

भारतको बिहारसँग सिमाना जोडिएको गौरीगञ्ज गाउँपालिकाले समेत सबै हाट बजार बन्द गराएको छ। गौरीगञ्जका कुञ्जिबारी, गौरीगञ्ज, खजुरगाछीलगायतका स्थानमा लाग्ने साप्ताहिक हाट बजार लाग्दै आएको छ। सीमावर्ती क्षेत्रसँग जोडिएको र गाउँपालिकामा भारतबाट आउने व्यक्तिहरु क्वारेन्टाइनमा आउने क्रम समेत बढेकाले हाललाई हाटबजार बन्द गराइएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए।

यस्तै, दमक नगरपालिकामा प्रत्येक बुधबार लाग्ने साप्ताहिक हाट समेत बन्द भएको छ। यहाँ लाग्ने पशुहाटलाई देशकै ठूला पशुहाटमध्ये एक मानिन्छ। दमकको पुशुहाट संघीय सरकारले पहिलो पटक घोषणा गरेको लकडाउनसँगै बन्द रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.