|

पर्वत : कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण चैत ११ देखि साउन ६ गतेसम्म भएको लकडाउनको १ सय ४४ दिनको अवधिमा गण्डकी प्रदेशमा २ सय ५१ जनाले आत्महत्या गरेका छन्। 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार त्यो अवधिमा सबैभन्दा बढी झुन्डिएर २ सय १८ जनाले आत्महत्या गरेका छन् भने आगो लगाउने १, हाम फाल्ने २ जना, करेन्ट लगाएर २, हातहतियार औजारको प्रयोग गर्ने १ र पानीमा हाम फाल्ने तथा डुब्ने ९ जना रहेका छन्। 

तथ्यांक अनुसार सबैभन्दा बढी आत्महत्या बिहीबार भएको पाइएको छ। २ सय ५१ मध्ये बिहीबार ४३, आइतबार ३४, सोमबार ३९, मङ्गलवार ३२, बुधवार ३२, शुक्रवार ३८ र शनिवार ३३ जनाले आत्महत्या गरेका छन्। 

यस्तै समय अनुसार हेर्दा बिहानको समयमा आत्महत्या गर्नेहरूको सङ्ख्या बढी छ। बिहान ६ देखि १२ बजेसम्म ८३ जना, १२ देखि साँझ ६ बजेसम्म ७५ जना, साँझ ६ देखि बिहान ६ बजेसम्म २७ जनाले आत्महत्या गरेका छन्। 

उमेर अनुसार

उमेर अनुसार आत्महत्याको तथ्यांक हेर्दा सबैभन्दा बढी ४५ वर्ष उमेर भन्दा माथिकाले आत्महत्या गरेको पाइएको छ। उनीहरूको सङ्ख्या ५७ जना पुरुष र २७ जना महिला गरी ८४ रहेको छ। १८ वर्षभन्दा तलको उमेरका २१ पुरुष र २५ महिला गरी ४६ जना, १८ देखि २४ वर्ष उमेरभित्रका २५ पुरुष र २६ महिला गरी ५१ जना तथा २५ देखि ४५ वर्ष उमेर समूहका ४४ पुरुष र २७ महिला गरी ७१ जना रहेका छन्। 

आत्महत्याको कारण

आत्महत्या गर्नेमध्ये निकै थोरैले मात्रै सुसाइड नोट लेखेर छोड्ने भएकाले आत्महत्या गर्नुको कारण यही नै हो भनेर किटान गर्न नसकिने तर अनुसन्धानको क्रममा केही न केही कारण भने पत्ता लाग्ने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी किरण राना बताउँछन्। 

त्यही आधारमा हेर्दा आत्महत्या गरेकाहरूको मुख्य कारण मानसिक तनाव रहेको पाइएको छ। तनावमा परेर ८६ जनाले ज्यान फालेका छन्। पारिवारिक कलहका कारण ३३ जना, डिप्रेसनले ४१ जना, प्रेममा धोका पाएका १३ जना, आर्थिक अवस्थाका कारण १४ जना र अन्य कारणले ६५ जनाले आत्महत्या गरेका छन्।

प्रवक्ता रानाले लकडाउनकै कारणले यती आत्महत्या भएका छन् भन्ने कुरा भने नखुल्ने बताउँछन्। लकडाउनका कारण उत्पन्न भएका परिस्थितिले कसैले आत्महत्या गरेको भएमा पनि आत्महत्याको कारण अन्य शीर्षकमा आउने उनको भनाई छ। आत्महत्या गरेकाहरूले नोटमा लकडाउनका कारण आत्महत्या गरेको भनी नलेखेको र साथीभाइ वा आफन्तलाई लकडाउन कारण देखाएर आफू समस्या परेको नबताएको रानाले बताए। 

कुन जिल्लामा कति?

लकडाउनको अवधिमा सबैभन्दा आत्महत्याका घटना तनहुँमा भएका छन्। तथ्यांक अनुसार तनहुँमा ५४, स्याङ्जामा २४, गोरखामा २६, लमजुङमा १०, मनाङ र मुस्ताङमा १÷१, बागलुङमा २२, पर्वतमा १८, म्याग्दीमा ८ र नवलपरासी (पूर्व) मा ४१ जनाले आत्महत्या गरेका छन्।

यस्तो छ लकडाउन पछिको अवस्था

लकडाउन अन्त्य भएपछि साउन ७ गतेदेखि २५ गतेसम्मको अवधिमा प्रदेशमा कुल ४९ जनाले आत्महत्या गरेका छन्।  प्रहरीमा दर्ता भएका मुद्दा अनुसार कास्कीमा १४, स्याङ्जामा ९, तनहुँमा ८, गोरखामा २, लमजुङमा २, बागलुङमा ४, पर्वतमा ३, म्याग्दीमा २ र नवलपरासी (पूर्व) का ५ जनाले आत्महत्या गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.