|

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले भदौ १ देखि नगरपालिकाभित्र रहेका विद्यालय सञ्चालन गर्ने निर्णय स्थगित गरेको छ। उपत्यकामा दिनहुँ कोरोना संक्रमित बढ्दै गएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो।

नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले कोरोना संक्रमण फैलिँदै गएकाले विद्यालय सञ्चालन गर्ने निर्णय स्थगित गरेको जानकारी दिए।  ‘अवस्था सामान्य बन्दै गएमा नगरपालिकाभित्रका विद्यालय भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेका थियौँ,’ उनले भने, ‘अहिले दिनहुँ कोरोना संक्रमित भेटिँदै गएको छ। यो अवस्थामा विद्यालय सञ्चालन गर्न सकिँदैन।’ 

गत साउन १६ मा नगरप्रमुख सन्तोष चालिसेको अध्यक्षतामा प्याब्सन, एन–प्याब्सन शिक्षक र अभिभावक सहभागी बैठकले भदौ १ देखि स्वस्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो।

उक्त बैठकले विद्यालय भर्ना गराउनुपर्ने, विद्यार्थीहरूलाई सामान्य रुघाखोकी वा सामान्य ज्वरोको लक्षण  देखिएमा उक्त अवधिभर विद्यालय नपठाउने, विद्यार्थी प्रवेश गर्ने गेटमा थर्मल गन र स्यानिटाइजर राख्ने, कक्षाकोठामा एक बेन्च एक विद्यार्थी मात्र रहने गरी सामाजिक दूरी कायम गर्ने, स–सानो  समूह वा झुण्ड वा विषयगत समूह निर्माण गरी वैकल्पिक शिक्षण विधि सञ्चालन गर्ने, भौतिक दूरी एवं स्वास्थ्य सुरक्षा विचार गरी वैकल्पिक शिक्षण  कार्यक्रम सञ्चालन गर्ने लगायत निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.