|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको विवाद मिलाउन महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाइएको छ। 

जारी विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको महासचिव पौडेलले जानकारी दिए। कार्यदलमा पौडेलसहित जनार्दन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे छन्। 

कार्यदलमा नेकपाभित्र अहिले देखिएका तीनै समूहका नेता समेटिएका छन्। महासचिव पौडेल र पोखरेल ओली समूहका हुन्। त्यसैगरी जनार्दन शर्मा र पम्फा भुसाल दाहाल समूहका हुन भने भीम रावल र सुरेन्द्र पाण्डे नेपाल समूहका हुन्।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा बसेको बैठकपछि यो निर्णय आएको हो। बिहीबार बसेका दुई अध्यक्षको वार्ता सकारात्मक दिशामा अघि बढेको थियो।

यस्तोमा शुक्रबार दुई अध्यक्षले महासचिव पौडेलको संयोजकत्वमा कार्यदल बनाएको हो। यसअघि यही बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा देखिएको विवाद पाँच दिनभित्र समाधानको दिशामा जाने बताएका थिए। 

नेकपामा ओलीको कार्यशैलीलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ। ओलीले एकलौटी अघि बढ्न खोजेको भन्दै अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहितले चर्को आलोचना गर्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.