|

सर्लाही : प्रदेश २ का आठवटै जिल्लाका होटल व्यवसायीहरुले क्वारेन्टाइनका लागि आ–आफ्ना होटल दिन राजी भएका छन्। नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को भर्चुअल बैठकमा प्रदेशभरका व्यवसायीहरु नेपाल सरकारले निर्धारण गरेको शुल्कमा क्वारेन्टाइनका लागि होटल दिन सहमत भएका हुन्। 

बैठकमा सहभागी महासंघका प्रदेश कोषाध्यक्ष एवं नमस्ते होटल लालबन्दीका सञ्चालक वैकुण्ठ सापकोटाले जिल्ला प्रशासन कार्यालय र पालिकाहरुले क्वारेन्टाइन राख्न होटलको माग गरे उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। 

विभिन्न देशबाट उद्धार गरेर काठमाडौं ल्याइएकालाई राख्न सरकारले त्यहाँका होटललाई बुझाएको शुल्कलाई नै आधार मानेर यस प्रदेशका होटल पनि उपलब्ध गराउने प्रदेशभरका होटल व्यवसायीहरुको बैठकबाट निर्णय गरिएको हो। 

भर्चुअल बैठकमा सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, धनुषा सिरहा र सप्तरीका अगुवा होटल व्यवसायी सहभागी भएका थिए । कोरोना कहर सुरु भएपछि भारतसँग सीमा जोडिएको प्रदेश २ मा अन्य व्यवसायसँगै होटल तथा पर्यटन क्षेत्र पनि प्रभावित भइरहेको छ। 

अहिले जिल्लागत रुपमा र पालिकाहरुमा निषेधाज्ञा जारी भएपछि होटल व्यवसायी मारमा परेका छन् । बजार बन्द रहेको र सवारी आवागमन पातलो रहेकाले यहाँका होटलहरु अहिले बन्द छन् ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.