प्रदेशभर संक्रमित संख्या ६ हजार ६ सय नाघ्याे, पर्सामा मात्रै १९ जनाकाे मृत्यु

|

जनकपुरधाम : जनकपुरस्थित प्रादेशिक अस्पतालका ११ कर्मचारीसहित प्रदेश २ मा १ सय ९९ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ४७ महिला र १ सय ५२ पुरुषमा कोरोना पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालयका अनुसार धनुषामा ५४ जना, सिरहामा १ जना, महोत्तरीमा २० जना, बारामा २० जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना, र सप्तरीमा २१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेश २ मा कोरोना संक्रमित संख्या ६ हजार ६२७ पुगेको छ।

प्रादेशिक अस्पतालका ११ कर्मचारीमा कोरोना संक्रमित थपिएकामध्ये ४ महिला छन्। संक्रमित महिला कर्मचारीको उमेर २४, २५, २५ र २८ रहेको छ। यस्तै संक्रमित पुरुष कर्मचारी १९ देखि ७० वर्ष उमेर समूहका छन्। सोही अस्पतालमा भर्ना ६ बिरामीमा समेत कोरोना पुष्टि भएको छ।

यस्तै जनकपुरस्थित जानकी हेल्थ केयरका ५ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये सो हेल्थ केयरका सञ्चालकसमेत रहेका जनता समाजवादी पार्टीका संघीय सांसद डा. सूर्यनारायण यादवमा समेत संक्रमित भएका छन्। उनी दैनिक सयौं बिरामीको उपचार तथा जाँच गर्दै आएका थिए।

यस्तै जनकपुरस्थित मुक्तिनाथ विकास बैंकका थप ३ पुरुष कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय धनुषाकी एक महिलासहित ६ जना कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ। 

वीरगन्जस्थित नारायणी अस्पतालका थप २ महिलासहित ६ कर्मचारीमा कोरोना पुष्टि भएको छ। सो अस्पतालका क्वाटरका ३ जनामा समेत कोरोना संक्रमण देखिएको छ। वीरगन्जमै रहेका भारतीय राजदूतावासका थप एक कर्मचारी र ग्लोबल आइएमई बैंकका थप एक कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ। वीरगन्जकै आर्मी ब्यारेकका थप एक सेनासमेत संक्रमित भएका छन्।

२४ घण्टामै गयो तीन जनाको ज्यान

पछिल्लो २४ घण्टामा प्रदेश २ मा तीन जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए। उनका अनुसार सिरहा विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरुष, धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुष र सर्लाहीका ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।

योसँगै प्रदेश २ मा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ। जसमध्ये ३४ पुरुष र ८ महिला छन्। पर्सामा सबभन्दा बढी १९ जनाको कोरोनाबाट ज्यान गइसकेको मन्त्रालयको तथ्यांक छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.