|
फाइल फोटो

सौराहा : ‘रामु’लाई मात चढेको त १५ दिनभन्दा बढी भयो। उसको व्यवहारमा अस्वभाविक परिवर्तन आएपछि बाँधेर राख्न थालिएको थियो। १५ दिन लगातार बाँधेर राख्दा मालिकलाई ऊ हरायो भन्ने लाग्यो।

अर्कोतर्फ उसलाई भेट्ने नयाँ माहुतलाई चलाउन सिकाउनु पनि थियो। प्रयास गर्न खोज्दा रामु फेरिएको रहेनछ भन्ने पुनर्पुष्टि भयो। उसले १५ दिनअघिकै व्यबहार दोहोर्‍यायो। माउत रामकुमार माझीलाई आक्रमण गरेर करङ नै भाँचिदियो।

उसले गाउँमा आतंक मच्चाउला भन्ने डरले जंगलसम्मै लखेटियो। बुधबार बिहान उसलाई लिन जाँदा आर्का माउत लक्ष्मण बोटेलाई पनि आक्रमण गर्‍यो। बोटे गम्भीर घाइते भएका छन्, रामु भने पुनः जंगल छिरेको छ।

चितवन सौराहाका व्यवसायी ओम रिजालले पालेको हात्तीको नाम हो रामु। २५ वर्षीय रामुले दुई दिनको अन्तरालमा दुईजना माउतलाई घाइते बनाइसकेको प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए। 

सामान्य अवस्थामा एकजना माउतले भनेको मानेर पर्यटकलाई जंगल घुमाउने रामुले आजभोलि जंगली स्वभाव देखाउन थालेको छ। 

मात चढुञ्जेल आक्रामक हुने र त्यसपछि विस्तारै सम्हालिन स्वभाव हात्तीको हुन्छ। ‘आक्रामक बनेपछि १५ दिनदेखि बाँधेर राखिएको थियो, अहिले मात हरायो होला भनेको हराएको रहेनछ,’ रिजालले भने।

घाइते भएका दुवै माउतको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.