|

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीकी गृहिणी महिला मधुमेह र उच्च रक्तचापले पीडित थिइन्। केही समयदेखि आँखामा समस्या भएपछि उनी उपचारका लागि अस्पताल गएकी थिइन्। सोही क्रममा पिसिआर परीक्षण गर्दा उनमा बिहिबार कोरोना पोजिटिभ देखियो।

त्यस्तै, सूर्यविनायक नगरपालिका–१ सिरुटारका ६८ वर्षीय पुरुष क्यान्सरबाट पीडित छन्। उनी उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा जाने गरेका थिए। पाँचौं पटक उपचार गर्न जाँदा पिसिआर परीक्षण गर्दा उनमा पनि बिहीबार कोरोना पोजिटिभ देखियो।

मध्यपुर थिमि–७ धुन्चेपाखाका एक महिला सिटिजन्स बैंकमा कार्यरत छिन्। उनी कार्यरत शाखाका सातजनाको कोरोना परीक्षण गरिएकोमा पाँचजनाको रिपोर्ट पोजिटिभ आएको स्रोतले जानकारी दिए। त्यसैगरी मध्यपुर थिमि–४ शंखधरचोककी एक गृहिणी महिला, महानगरीय प्रहरी वृत्त थिमिको उत्तरतर्फको बस्तीका तीनजनामा संक्रमण पुष्टि भयो। 

केही समयअघि काठमाडौं उपत्यकाबाहिरबाट आएका मानिसमा मात्र कोरोना संक्रमण देखिएकोमा पछिल्लो समय स्थानीय बासिन्दामा समेत संक्रमण देखिएको छ। पछिल्लो समय कोरोना संक्रमितहरुको प्रकृति हेर्दा समुदाय स्तरमा फैलिएको छनक देखिन्छ। 

यात्रा विवरण नभएका, बाहिरबाट आएकासँगको घुलमिल नभएका तर अस्पताल गएका र स्थानीय स्तरमा काममा गएकाहरुमा समेत संक्रमण देखिनुले समुदायमा कोरोना फैलिएको आंशका गरिएको हो। तर सरोकारवाला निकायका पदाधिकारी र स्थानीय तहका जनप्रतिनिधिहरु भने समुदायस्तरमा फैलिनसकेको बताउँछन्।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिझारले स्थानीयमा संक्रमण देखिए पनि समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्न नसकिने बताए। उनले भने, ‘यहाँका संक्रमित जति पनि छन् समुदायबाट नभएर बाहिरबाट आएकाहरुबाट सरेको, गाडीमा बस्दा वा अस्पताल जाँदा मानिसको आफ्नो लापरबाहीले सरेको देखिएको हो।’

बेवास्ता र लापरवाहीका कारण संक्रमण बढ्न थालेको मिझारले बताए। यस्तै अवस्था रहे संक्रमण छिट्टै समुदायस्तरमा पुग्ने उनको भनाइ छ। ‘यस्तो अवस्थामा पनि मानिसहरु समूहमा भलिबल, फुटबल, ब्याटमिन्टन खेल्ने, वाकमा जाने गर्छन्,’ उनले भने, ‘माक्स सही ढंगले नलगाउने, अनावश्यकरुपमा हिँड्ने, बजारमा भिडभाड गर्ने जस्ता लापरवाही गर्दै हिँडेका छन्। यस्तै, बेवास्ता गरे समुदयामै फैलिने धेरै सम्भावना रहको छ।’

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ पनि छिटफुटरुपमा स्थानीयमा संक्रमण देखिए पनि समुदायस्तरमा फैलिएको मान्न नसकिने बताउँछन्। उनले केहीलाई कार्यस्थलमा र केहीलाई अस्पतालबाट सरेको देखिए पनि समुदायस्तरमा नफैलिएको बताए। 

भक्तपुरमा बढ्दो कोरोना ग्राफ 

भक्तपुरमा कोरोना संक्रमितको ग्राफ समेत बढ्न थालेको छ। भक्तपुरमा पहिलो पटक गत बैशाख ३० मा रामेछाप घर भई चाँगुनारायण–१ दुवाकोट बस्ने २७ वर्षीय सशस्त्र प्रहरी जवान र सुनसरीको रामधुनी नगरपालिका झुम्का घर भई मध्यपुर थिमि शंखधरचोक बस्ने २५ वर्षीया स्वास्थ्यकर्मी महिलालाई कोरोना संक्रमण देखिएको थियो।

त्यसपछि जेठ ६ मा भक्तपुर नगरपालिका–५ भेलुखेलका एक पुरुषमा कोरोना संक्रमण देखिएको भक्तपुरमा जेठ मसान्तसम्म पाँचजनामा संक्रमण देखिएको थियो। असारमा ४१ जनामा संक्रमण देखियो जो अधिकांश वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा अलपत्र परेर सरकारले उद्धार गरेर ल्याएका व्यक्तिहरु र ती उद्धारमा खटिएका केही वायुसेवाका कर्मचारीहरु पनि थिए। तीमध्ये दुवईबाट आएका दुई, कुवेतबाट आएका १०, युएईबाट आएका चार, भारतबाट आएका दुई र कतारबाट आएका एकजना रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।

साउनमा मात्र भक्तपुरमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये साउन २३ मा एक महिलासहित छजना, साउन २४ मा एक महिला र एक पुरुष गरी दुईजना, साउन २५ मा एक पुरुषसहित पाँचजना, साउन २६ मा तीन महिलासहित सातजना, साउन २७ मा तीन वर्षीय बालकसहित आठजना, साउन २८ मा चारजना, साउन २९ मा पाँच र साउन ३० मा छजनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिए।

भक्तपुरमा केही दिन यता विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी र उनका परिवारका सदस्यहरुमा समेत कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

भक्तपुरमा शुक्रबार साँझसम्म ११५ जना संक्रमित भइसकेका छन्। जसमध्ये उपचारपछि ५४ जनाले कोरोना जितेका छन् भने बाँकी ६१ विभिन्न अस्पताल र होम आइसोलेसनमा उपचार गराइरहेका छन्।

संक्रमित क्षेत्रमा अघोषित लकडाउन

भक्तपुरमा कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र स्वास्थ्य कार्यालयले विभिन्न रणनीति तय गरेर कार्यान्वयन गर्न थालेको छ। स्थानीय तहले अघोषितरुपमा लकडाउन गरेको छ।

वडा कार्यालयहरुले सूचना जारी गर्दै संक्रमित क्षेत्रमा अत्यावश्यक खाद्यान्न, तरकारी, फलफूल र दुध डेरीका पसलहरु बिहान ५ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाइने जनाएको छ। यसका साथै बैंक तथा वित्तीय संस्था, चिया पसल, होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटी पार्लर, स्पा, जिमखाना अर्को सूचना जारी नभएसम्म बन्द गरिएको छ।

त्यस्तै, चाडपर्व परिवारका सदस्यहरुबीच घरभित्रै मनाउन, अनावश्यकरुपमा घरबाहिर नहिँड्न, भीडभाड र समाजलाई असर पर्ने गरी मानिस जम्मा भए प्रहरी र वडा कार्यालयमा खबर गर्न अनुरोध समेत गरेको छ।

७०० शय्याको आइसोलेसन वार्ड बनाउने

भक्तपुरमा कोरोना संक्रमितहरुको उपचारका लागि ५०० देखि ७०० शय्याको आइसोलेसन वार्ड बनाउने भएको छ। जिल्ला विपद व्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकले जिल्लाका चारवटै नगरपालिकाको सहकार्यमा ५०० देखि ७०० शय्याको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। 

उनले जिल्लावासी र बाहिरबाट आएका व्यक्तिहरुमा कोभिड १९ देखिएमा कन्ट्रयाक ट्रेसिङ गर्ने र उपत्यका छिर्ने नाकामा निकै कडा गर्ने व्यवस्था गरिसकेको जानकारी दिए। उनले भने, ‘बैठकले बिरामी बोक्न एम्बुलेन्सको तयारी, डाक्टरहरुको प्राविधिक टोलीको व्यवस्थापन समेत गरिसक्यौं।’

त्यसैगरी सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले पनि जनचेतनाका लागि माइकिङ सुरु गरेको जानकारी दिँदै सामाजिक दूरी कायम नगर्नेलाई कारवाही गर्ने र माक्स र स्यानिटाइजर वितरण गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.