|

कैलाली : कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारले चैत्र १० गतेदेखि लकडाउन गर्‍यो। लकडाउन अवधिमै कैलालीको गौरीफन्टा लगायत सुदूरपश्चिमका विभिन्न नाका हुँदै झण्डै अढाई लाख नेपालीहरू भारतबाट नेपाल फर्किए।

भारतको राजस्थान, नयाँ दिल्ली, देहरादुन, बैंग्लोर, चेन्नई र पन्जाबलगायत ठाउँबाट कतिपय नेपालीहरू हिँडेरै सीमा नाकासम्म आए। भोकभोकै सयौं किलोमिटर पैदल यात्रा गरेर देशको सिमानामा आइपुगेका नेपालीहरूले घर फर्कने थुप्रै समस्या भोग्नुपर्‍यो। 

सीमा क्षेत्रमा भोकभोकै खुला आकाशमुनि रात बिताएर नेपाल आएका अधिकांश नेपालीहरू अहिले सहजै भारत फर्किन थालेका छन्। अहिले नेपालीहरूले घर फर्कनभन्दा भारत जान सजिलो भएको अनुभुति गर्न थालेका छन्। भारत जान सीमाक्षेत्रमा कुनै समस्या छैन।

अहिले पनि भारतमा महामारी अवस्था सामान्य भएको छैन। दैनिक हजारौं संक्रमित थपिइरहेका छन्। कोरोनाबाट सयौँको ज्यान गइरहेको छ। तर, भारतले रोजगारीका लागि फर्किन चाहने नेपालीहरूलाई सहजै रुपमा प्रवेश दिइरहेको छ। 

कोरोना त्रासकै बीच भारतीय ‘आधार कार्ड’ भएकाहरूलाई भारतले सहजै प्रवेश दिइरहेको सीमा सुरक्षा खटिएका सशस्त्र प्रहरीका डिएसपी भोलानाथ कुसुवाले बताए। उनका अनुसार नेपाल फर्कनेहरूलाई केही अप्ठ्यारो भएपनि भारत जानेलाई कुनै अवरोध छैन। अहिले कैलालीको गौरीफन्टा नाका भएर दैनिक एक सयदेखि तीन सयसम्म नेपालीहरू भारत गइरहेका छन्। उनीहरू यसअघी कोरोना त्रासकै कारण ज्यान जोखिममा राखेर स्वदेश फर्किएका थिए। 

चार महिने लकडाउनमा घरमै बसेका उनीहरू रोजगारीका लागि फेरि भारत जान थालेका हुन्। असार महिनामा मात्रै दुई हजार ६८१ जना नेपाली रोजगारीको लागी भारत गएका छन् भने १७ हजार ५ जना भारतबाट नेपाल भित्रिएका छन्।

यस्तै, साउन २९ गतेसम्म तीन हजार ७५७ जना भारत गएका छन् भने १४ हजार ७६४ जना नेपाल भित्रिएका छन्। पछिल्लो समय नेपाल–भारत सीमा गौरीफन्टा नाकामा भारत जानेहरूको बाक्लो भीडभाड लाग्न थालेको छ।

भारतको पन्जाबमा सेक्युरीटी गार्डको काम गर्दैगर्दा दुई महिनाअघि नेपाल आएका कैलाली गौरीगंगाका प्रकाश विक रोजगारी गुम्ने चिन्ताले भारत फर्किन लागेको सुनाउँछन्। ‘घर आएर दुई महिनासम्म बेरोजगार नै भएर बसियो, घरखर्च धान्न गाह्रो भयो, त्यही भएर उतै जाने विचार गरियो,’ उनले भने।

कैलालीको बर्दगोरीयाका भरत रावल लकडाउनका बेला नेपाल फर्किएका थिए। तर यता काम नभएपछि उनी फेरि स्याउ टिप्न सिमला जाँदैछन्‌।  गौरीफन्टा नाकामा भेटिएका उनले नेपाल आउनभन्दा भारत जान सहज भएको बताए। ‘कोरोना महामारी फैलिएपछि त्रासका कारण भारतमा बस्न सकिएन, मुम्बईबाट दुई/तीन दिन लगाएर स्वदेश फर्किएँ, सीमामा भोकभोकै एक रात बिताएपछि बल्ल क्वारेन्टिनमा लगियो, बल्लतल्ल घर पुग्न पाएपछि रोजगारी नभएपछि फर्किन लागेको हुँ।’

हातमा चाउचाउको कार्टुन बोकेर गौरीफन्टा नाका पुगेका डडेल्धुराका वीरे सार्की रोजगारीको लागि फेरि भारतको पुणे फर्किने तयारीमा छन्। ‘कतै नेपाल फर्किने बेलाको जस्तै भोकभोकै पो परिन्छ कि भन्ने डर लाग्यो, त्यसैले चाउचाउको कार्टुन पनि बोकेको छु,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.