|

डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का खेमराज अवस्थी स्कुले विद्यार्थी हुँदा परिवारका सदस्यहरू आलु खेती गर्थे। विद्यालय जाँदा उनलाई उतैबाट आलु बेचेर आउन घरबाट आग्रह गरिन्थ्यो।

उनी स्कुल जाँदा आलु बेच्न बजार पनि पुग्थे। एक दिन बोकेको बोराभित्र कुहिएको आलु रहेछ। उनको सर्ट निध्रुक्कै भिज्यो। विद्यालय पोशाक भिजेपछि उनी त्यो दिन अन्तिम बेञ्चमा बस्नुपर्‍यो। निकै नरमाइलो लाग्यो।

त्यसदिन उनले मनमनै सोचे : 'अब यो आलुलाई कहिले नकुहिने बनाउँछु।' बाल्यकालमा गरेको अठोट उनले कहिले बिर्सिएनन्। कक्षा १० मा पढ्दादेखि नै उनी व्यवसायिक कृषि पेशामा लागे। उनको सानैदेखिको सपना माटोमै सिञ्चित थियो। जसलाई अवस्थीले माटोमै मलजल गरे। गोडमेल गरे।

कृषिमा लागेका उनले पढाइलाई पनि निरन्तरता दिए। शिक्षा संकायबाट स्नातकोत्तर गरे। साथीहरूमध्ये कतिपयले देशमै सरकारी जागिर पाए भने कतिपय घर परिवारको खर्च जुटाउनका लागि भारत तथा खाडी मुलुक गए।​​

तर, उनी भने आफ्नै ठाउँमा तरकारी खेतीमा लागिरहे। विदेशको रोजगारीभन्दा स्वदेशमै तरकारी खेतीमा भाग्य र भविष्य देख्दै उनी अहिलेपनि यहि पेशामा निरन्तर लागि परेका छन्।

उनको साँझ-बिहान तरकारी खेतीमा बित्ने गरेको छ। तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। उनले आफ्नो बारीमा काउली, बन्दा, आलु, भन्टा, मुला, गाजर, गोलभेंडा र काँक्राजस्ता तरकारी प्रशस्त लगाएका छन्।

शिक्षा संकायका स्नातकोत्तर अवस्थीसँग शिक्षा क्षेत्रको भन्दा बढी कृषि क्षेत्रका प्राविधिक ज्ञान धेरै छ। उनलाई डडेल्धुरामा अगुवा कृषक तथा 'कृषिका मास्टर' भनेर पनि चिनिन्छ।

एक रोपनीमा सुरू गरेको तरकारीखेती अहिले ११ देखि १४ रोपनीमा विस्तार भइसकेको छ। उनले सो जग्गामा बेमौसमी तरकारीसमेत फलाउने गर्छन्‌। २०६१ सालदेखि तरकारी खेतीमा लागेका ३२ वर्षीय अवस्थीले कृषिबाटै आमा, बुबा, श्रीमती, एक भाइ गरी सात जनाको परिवार पालिरहेका छन्। तरकारी खेतीबाट वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनी बताउँछन्।

हुलाकको जागिर छाडेर माटोसँग प्रेम

जिल्ला हुलाक कार्यालय डडेल्धुरामा काम गर्ने उनले अहिले जागिर छोडेको २ वर्ष भयो। ‘सरकारी जागिर! कहिले यता, कहिले उता गर्दा हिसाब किताब बराबर हुन्थ्यो, कृषिबाट त मैले सम्पूर्ण खर्च कटाएर २ देखि ३ लाख रुपैयाँ कमाउँछु।’ उनले भने, ‘मन लागेको बेला काम गर्छु, कहिलेकाहीँ अन्य कृषकका समस्या पनि हेरिदिन्छु।’ 

सुरुमा सरकारी जागिरे भए पनि उनी तरकारी खेतीमा लागेको १७/१८ वर्ष जति भयो। सरकारी जागिरभन्दा तरकारी खेती राम्रो लागेकाले जागिर छोडेर कृषिमा लागेको उनी बताउँछन्।

‘२०६५ सालमा तालिम लिएपछि प्रांगारिक उत्पादन बढाउने र परम्परागत खेतीलाई आधुनिकीकरण गर्नेतिर लागेँ। १५ हप्ता बाली सहजकर्ताको तालिम लिएँ। तालिम लिएर गरेको कृषि फस्टाउँदै गएपछि गाउँका सबैलाई कृषि पेशा गर्नुस् भनेर सिकाउन थालेँ,’ उनले भने।

कृषिसम्बन्धी धेरै समस्या समाधान गर्नसक्ने भएपछि साविकको जिल्ला कृषि विकास कार्यालयले कृषि पाठशाला सञ्चालनका लागि केही स्थान आफूलाई पनि दिएको उनले बताए। 

१५ हप्ते बाली सहजकर्ताको तालिम लिएपछि उक्त ज्ञान आफूमा मात्र सीमित राखेनन्, पूरै गाउँलाई नै तरकारीमय बनाउन उनी रातदिन लागिपरे। विस्तारै उनी गाउँको मात्र नभएर अहिले जिल्लाभरि नै सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा कृषि पाठशालासमेत सञ्चालन गर्न थालिसकेका छन्। 

कृषि प्राविधिक पाउन मुस्किल

स्थानीय सरकार आएर केही संरचना फेरिएपछि कृषकले प्राविधिकहरू पाउन मुस्किल भएको उनले बताए। ‘नयाँ–नयाँ किसिमका रोग आउँछन्, यसबारे अधिकांश नयाँ कृषि प्राविधिक सम्बन्धित क्षेत्रमा कम बुझेका हुन्छन्, दक्ष प्राविधिकको आवश्यकता छ,’ उनले भने।

उनका अनुसार पहिले जिल्ला कृषि कार्यालयमा बागवानी अधिकृतसम्मका कर्मचारी थिए। अहिले पनि छन्। तर, कम छन्, त्यसैले समस्या छ। उनलाई आलुको सिजनमा प्राविधिक सहयोग गर्ने गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रायोजक इकाई कार्यालय डडेलधुराले जनाएको छ। 

विदेश जान खोज्ने युवालाई सुझाव

रोजगारीका लागि विदेश जान खोज्ने युवाहरूलाई सोका लागि लाग्ने खर्चले यहीँ लगानी गरेर पसिना बगाउन र मनग्य आम्दानी गर्न अवस्थीको सुझाव छ।

‘एक डेढ लाख रुपैयाँ लगानी गर्नुस्प्रा, प्राविधिकको सल्लाहअनुसार व्यवसायिक बाख्रा पालन, कुखुरा पालन, तरकारी खेती गर्नुस्, भारतको तरकारी खाइरहेको हाम्रै डडेल्धुरामा अर्ग्यानिक तरकारीले राम्रो बजार पाउँछ,’ उनी भन्छन्‌।

युवाहरू मिलेर तरकारी खेती गर्ने हो भने विदेशको जति कमाइ यहीँ मातृभूमिमै गर्न सकिने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.