|

सिमरा : डिभिजन वन कार्यालय बाराबाट खटिएको वन गस्ती टोलीले छिमेकी जिल्ला रौतहटको सीमा क्षेत्र बकैया खोलाबाट ३४ क्युफिट काठसहित ३ टायरगाडा बरामद गरेको छ।

शुक्रबार वन गस्ती टोलीले टायरगाडासहित साल र अन्य प्रजातिका गरी ३४ क्युफिट काठ बरामद गरेको हो । गस्ती टोली देखेपछि काठ तस्करले काठ र टायर गाडा छोडेर गोरु मात्रै लिएर भाग्न सफल भएका छन्।

‘३ वटा टायर गाडामा २÷२ जना मान्छे थिए भन्ने हाम्रो अनुमान छ, वनको टोली त्यहाँ पुग्दा उनीहरुले गोरु लिएर भागिसकेछन्’, वन अधिकृत मञ्जुर अहमदले भने, ‘हामीले फरार व्यक्तिको खोजी गरिरहेका छौं’, काठ तस्करहरु रौतहट वा बारा कहाँ हुन् भन्ने खोजी भइरहेको तामागढी साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र पनवरले जनाए। 

‘तिनीहरु काठ तस्कर नै हुन्, रौतहटबाट टायर गाडा र गोरु भाडामा ल्याएर बाराको वनमा काठ तस्कर गर्न आएका हुन् कि भन्ने हाम्रो अनुमान छ,’ अध्यक्ष पनवरले भने, ‘यसअघि पनि काठ तस्करीमा प्रयोग गर्न रौतहटबाट भाडामा ल्याएको पाडा हामीले नै पक्राउ गरेका थियौं।’

रौतहटका काठ तस्करहरु अनुकुलता हेरेर बाराको वन क्षेत्रमा छिर्ने गर्दछन्। पछिल्लो समय कोरोना भाइरस फैलन नदिन सरकारले जारी गरेको लकडाउन अवधिमा बाराको वन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको वन कार्यालयले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.