राजनीति

मोदीलाई ओलीको शुभकामना फोन, संवादको ढोका खुलेको दाबी

परराष्ट्र भन्छ : द्विपक्षीय विषयमा छलफल अघि बढ्छ

साउन ३१, २०७७

    काठमाडौं : नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो। 

    प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग शनिबार अपराह्न टेलिफोनमा कुराकानी गरेका हुन्। भारतले नेपालको ठूलो क्षेत्रफलसहितको भूमि हडपेर नक्सा जारी गरेपछि दुई देशबीच संवादहीनताको अवस्था थियो। 

    यस्तोमा भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा ओलीले मोदीलाई फोन गरेर शुभकामना दिएका हुन्। त्यसक्रममा उनीहरु भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

    टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले गत चैत २८ गते प्रधानमन्त्री मोदीसँग भएको कुराकानीको स्मरण गर्दै भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा बधाई एवम् शुभकामना दिएका छन्। 

    प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्री मोदी र उनीमार्फत भारत सरकार र  जनतामा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका मन्त्रालयले जनाएको छ। 

    प्रधानमन्त्री ओलीले भारतका जनताको निरन्तर प्रगति र समृद्धिको शुभेच्छा पनि प्रकट गरेका थिए। 'स्वतन्त्रता दिवसका अवसरमा आज गर्नुभएको सम्बोधनमा प्रधानमन्त्री मोदीले छिमेकलाई नवीकृतरुपमा प्राथमिकतामा राखिएको बताएकामा प्रधानमन्त्री ओलीले सराहना गर्नुभयो', मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'नेपालका प्रधानमन्त्रीले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गर्नुभएको छ।'

    कुराकानीका क्रममा दुवै देशका प्रधानमन्त्रीले कोभिड-१९ विरुद्ध गरिएका पछिल्ला प्रयासबारे विचार आदानप्रदान गर्नाका साथै महाव्याधिको क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन्। 

    महामारीबाट नेपाली जनतालाई जोगाउन तथा त्यसविरुद्ध नेपाल सरकारका प्रयासबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले  कोभिड-१९ विरुद्धको खोप चाँडोभन्दा चाँडो विकास हुनुपर्नेमा जोड दिए। 

    उनले भारतसहित विश्वका वैज्ञानिक त्यस्तो खोप विकास गर्न सफल हुने र त्यसले रोगको रोकथाम र फैलावट नियन्त्रणमा योगदान गर्ने आशा व्यक्त गरेका छन्। 

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएकामा प्रधानमन्त्री मोदीलाई बधाई ज्ञापन गर्दै उक्त निकायको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न भारतलाई सफलता प्राप्त होस् भन्‍ने शुभकामना व्यक्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]