|
फोटो : मिस कोशीका सहभागीहरु\ koshikhabar.com बाट

विराटनगर : 'मिस कोशी नेपाल-२०१७'  सुन्दरी प्रतियोगिताको ताज जिताइदिने बहानामा आयोजकले पैसाको बार्गेनिङ गरेको आरोप सहभागी १५ युवतीहरुले लगाएका छन्। पीडित युवतीहरुले आयोजकले पैसा माग्ने क्रममा मोबाइलमा गरेको टेक्स्ट म्यासेज र भ्वाइस कलसहित जिल्ला प्रशासन कार्यालय मोरङमा लिखित उजूरी दिएका छन्।

उजूरीपछि जिल्ला प्रशासनले जिल्ला प्रहरी कार्यालयमा पत्र लेख्दै आयोजक जय मिडिया उपर छानविन गर्न निर्देशन दिएको छ। प्रहरीले जय मिडियाका सञ्चालक जयराज रायलाई छानविनका लागि बोलाएको छ।

जय मिडिया प्रालीको आयोजना भएको तेस्रो संस्करणको 'मिस कोशी नेपाल २०१७' मा इटहरीकी सुजना खड्कालाई गत फागुन ७ गते विजेता घोषणा गरिएको थियो। 

किन दिए सहभागीले नै उजूरी

'हामीलाई प्रतिव्यक्ति कसैलाई ६ लाख, कसैलाई ३ लाख दिएमा विजेता बनाइदिने, हामीलाई नराम्रो व्यवहार गरेमा डिसक्वालिफाइड गराउँछु भनेको र प्रतिव्यक्ति १० वटा टिकट १० हजार बराबरको बेच्न बाध्य गराएको हुँदा आयोजकलाई कानून उपर कारबाही गरीपाउँ,' सहभागीहरुले जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको उजूरीमा  लेखेका छन्। सामूहिक उजूरी दर्ता गराउनेमा प्रतियोगितामा सहभागी १५ युवती छन्।

प्रतियोगितामा सहभागी हुन काठमाडौंबाट विराटनगर आएकी रिया चन्दले आफुसँग आयोजकले १० लाख मागेको दाबी गरिन्। 'मलाई आयोजकले विभिन्न बहनामा पैसा मागे। २० हजार त बुझाँए, तर फेरि पैसा मागिएपछि हामीले प्रशासनमा उजुरी गर्‍यो,' चन्दले भनिन्,' मजस्तै अन्य थुप्रैसँग पैसा मागिएको रहेछ। थाहा भएपछि हामीले उजूरी गर्‍यौं।'

सहभागीहरुका अनुसार उनीहरुसँग आयोजकले पैसा माग्दा गरेको बार्गेनिङका भ्वाइस क्लिप्स् र टेक्स्ट म्यासेजहरु सुरक्षित छन्। 'पैसाको बार्गेनिङ गरेको विषयमा कँही कतै उजूरी गरे वा पत्रकारलाई जानकारी गराए ज्यान मार्ने धम्की दिएका थिए,' सहभागी अर्की युवतीले भनिन्,'हामीले सबै भ्वाइस् क्लिप्स र टेक्स्ट म्यासेज सुरक्षित राखेका छौं।'

के भन्छ जिल्ला प्रशासन ?

सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले यस विषयमा कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको बताए। 'विगतमा यस प्रकारको प्रतियोगिता गर्न जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृती लिनुपर्ने व्यवस्था भएपनि अहिले भने त्यस्तो व्यवस्था छैन्' उनले भने,'कानुन अनुसार कुनै कार्य गर्ने उद्देश्य राखेर स्थापना भएको संस्थालाई फेरी त्यही काम गर्न अनुमति दिनु उचित नहुने भएकोले अनुमति दिने काम बन्द गरिएको हो। तर त्यसो भन्दैमा गलत काम गर्न पाइदैन भन्ने आयोजकले बुझ्नु पर्छ।'

अबदेखि यस प्रकारको काम गर्न रोक लगाउने गरी निगरानी बढाएको उनले बताए।  'अहिले जय मिडियाको विषयमा उजुरी आएको छ। गलत पाइए कडा कारबाही हुन्छ र उजूरीकर्ताले गलत उजुरी दिएको पाइए उजूरीकर्तामाथि पनि कारबाही हुनसक्छ,' उनले भने।

के गर्दैछ प्रहरी ?

जिल्ला प्रशासनको उजूरीपछि प्रहरीले यस विषयमा छानविन अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले बुधवार जय मिडियाका सञ्चालक जयराज रायलाई छानविनका लागि बोलायो।  आफ्ना सबै कागजपत्र तथा प्रतियोगिताको पूर्ण सूचि पेश गर्न भनेपछि रायले कागजपत्र बुझाएका छन्।

के भन्छन् जय मिडियाका सञ्चालक ?

जय मिडियाका सञ्चालक जयराज रायले आयोजकले कुनै गल्ती नगरेको बताए। उनले सहभागीहरुलाई अरु कसैले उचालेको दाबी गरे। 'कसैले उचालेर पराजित प्रतियोगिलाई उजुरी दिन लगाएको हो हामीले गल्ती गरेका छैनौं,' उनले भने। उनले आफुमाथि लागेको आरोप झुठो भएको र निर्णायकबाट निष्पक्ष निर्णय भएको दाबी गरे। सहभागीसँग पैसा नमागेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.