स्वास्थ्य परिषद्‌ले परीक्षण र विभागले आयातको अनुमति दियो

|

काठमाडौं : नेपालमा पनि इबोलाविरुद्धको रेमडिसिभिर औषधिको प्रयोग सफल भएको छ। 

कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौं ल्याइएका विराट मेडिकल कलेजका निर्देशक डा. ज्ञानेन्द्र कार्कीले रेमडिसिभिर प्रयोगपछि स्वास्थ्यलाभ गरेका छन्‌। सरकारले भने यो औषधी प्रयोगका लागि भर्खरै अनुमति दिएको छ 

संक्रमितको उपचारका लागि नेपालमा पहिलोपटक प्लाज्मा थेरापी गरिएका डा.कार्कीले नै यो औषधी आफूसँगै ल्याएका थिए। प्लाज्मा थेरापी र रेमडिसिभिरको प्रयोगबाट कोरोना संक्रमितको उपचार गरेका चिकित्सकहरूले यी दुवै विधि नेपालमा करिब-करिब सफल भएको दाबी गरेका छन्‌। 

अमेरिकाले कोरोना संक्रमितलाई इबोला विरुद्धको औषधी दिँदै

शिक्षण अस्पतालका चिकित्सकहरूका अनुसार इबोलाको औषधी दिइएका डा. कार्कीको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको छ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌ले भने रेमडिसिभिरको प्रयोग क्लिनिकल अध्ययनका लागि मात्रै प्रयोग गर्न सक्नेगरी अनुमति दिएको छ। औषधि व्यवस्था विभागले पनि यो औषधी आयातका लागि स्वीकृति प्रदान गरेको छ। 

यसअघि विभिन्न देशमा चिकित्सकहरूले गम्भीर अवस्थामा पुगेका संक्रमितलाई यो औषधि दिँदै आएका थिए। साथै, बेलायतमा बाथ र दमको उपचार गर्न प्रयोग हुने डेक्सामेथासोनको प्रयोग गरी गम्भीर अवस्थाका कैयौं बिरामीलाई बचाइएको छ। 

आयात गर्न अनुमति

संक्रमितको उपचारमा लाभदायी देखिएपछि औषधि व्यवस्था विभागले आयातकर्ताहरूलाई रेमडिसिभिर आयात गर्न अनुमति दिएको छ। परिषद्‌ले विभागलाई यो औषधी आयात गर्नका लागि अनुमति प्रदान गर्न पत्राचार गरेको थियो। 

परिषद्‌ले पत्र पठाएपछि विभागले आयातकर्तालाई रेमडिसिभिर आयात गर्न अनुमति दिएको हो। आयातकर्ताहरूलाई भारतको सिप्ला, माइलन र हिटेरो कम्पनीमा उत्पादित रेमडिसिभिरऔषधी आयात गर्न अनुमति दिइएको छ। आयातकर्ताहरूले विभागलाई यी औषधी तीन दिनभित्र ल्याइने बताएका छन्‌। 

यसअघि अवैध प्रयोग

कोरोना संक्रमितको उपचारका लागि रेमडिसिभिर प्रयोग गर्न सरकारले यसअघि अनुमति दिएको थिएन। अनुमति नपाएपनि अवैध रूपमै यो औषधी प्रयोग भइरहेको थियो। नेपालको बजारमा पर्याप्त मात्रामा नपाइएपछि भारतबाट रेमडिसिभिरको अवैध आयात समेत भएको थियो। 

संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरूलाई यो औषधी लाभदायी देखिएपछि नेपालमा पनि अनुमति दिन चिकित्सकहरूले सरकारसँग आग्रह गर्दै आएका थिए।

इबोला संक्रमितको उपचारमा प्रयोग हुने यो एन्टिभाइरल औषधि पहिलोपटक अमेरिकाको गिलियड साइन्स नामक कम्पनीले तयार गरेको थियो। हेपाटाइटिस सीबाट संक्रमितलाई उपचार गर्न बनाइएको यो औषधि इबोलाका बिरामीको उपचारमा निकै सफल देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.