|

जनकपुरधाम : शनिबार काव्या अस्पतालमा उपचार क्रममा जनकपुरधाम उपमहानगपालिका १६ का ४३ वर्षीय सोहन ठाकुरको ज्यान गयो। चिकित्सकले उनमा कोरोना संक्रमणको आशंका गरे। 

उनको पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आइसकेको छ। रिपोर्ट आइतबार ७ बजेर २३ मिनेटमै आएको हो। मृतकको स्याम्पल नम्बर डिएच १५०२०९ रहेको छ। स्वाब संकलन भने शुक्रबार बिहान ११ बजेर ४७ मिनेटमा भएको थियो। उनको कोरोना रिपोर्ट थाहा खबरसँग सुरक्षित छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक टोली आएर मृतकको स्वाब संकलन ग¥यो। तत्कालै पिसिआर परीक्षण गर्दा शुक्रबार मध्यरातमा रिपोर्ट पोजेटिभ आयो। तर रिपोर्ट पोजेटिभ आएको विषयमा सम्बन्धित निकाय मात्र नभएर आफन्त र उपचारमा संलग्न डाक्टर तथा अस्पतालसमेत अनभिज्ञ छ। सरोकारवालाले त रिपोर्ट अझै आउन समय लाग्ने बताउँछन्।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मृतक ठाकुरको रिपोर्ट नआएको बताए। ‘रिपोर्ट त आइसक्यो’ प्रश्न गर्नै लाग्दा उनले फोन काटे। लगत्तै सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झालाई सम्पर्क गर्दा उनले पनि अनभिज्ञता जनाए। उनले भने, ‘रिपोर्ट अहिले आएकै छैन। अहिले समय लाग्छ।’

त्यसपछि काव्या अस्पताल पुगेर प्रशासन प्रमुख सन्तोष सिंहसँग बुझ्दा उनले पनि मृतकको पिसिआर रिपोर्ट नआएको बताए। उनले डाइबिटिजका कारण मृत्यु भएको दाबी गरे। उनले भने, ‘कोरोनाको पनि शंका लागेपछि पिसिआर परीक्षणसमेत गरिएको छ। तर रिपोर्ट आउन बाँकी छ।’

स्रोतका अनुसार मृतकको शुक्रबारै दाहसंस्कार गरिसकिएको छ। कोरोनाको शंका लागेपछि शव तत्काल अस्पतालमै राख्नुपर्‍थ्यो। किनकि कोरोनाबाट मृत्यु भएमा शव व्यवस्थापन नेपाली सेनाले गर्छन्। तर शव उनकै आफन्तले व्यवस्थापन गरेका कारण उनीहरुमा पनि संक्रमण फैलिएको हुन सक्छ। मृतकको रिपोर्ट पोजेटिभ आएको कुरा उनका आफन्तले समेत अहिलेसम्म थाहा पाएका छैनन्।

यसअघि पनि यस्तो घटना घटिसकेको छ। जनकपुर विनय तारा फाउन्डेसन क्यान्सर सेन्टरका गार्ड करिब ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको २४ घण्टापछि पुष्टि भएको थियो। तर रिपोर्ट आउनु अगावै उनको दाहसंस्कार आफन्तले नै गरेका थिए।

प्रशासनको चरम लापरबाही

रिपोर्ट पोजेटिभ त आइसक्यो भनेर प्रश्न गर्दा काव्या अस्पतालका प्रमुख सिंहले भने, ‘अहिलेसम्म आधिकारिक जानकारी कसैले गराएका छैन।’ उनले मृतकको रिपोर्ट पोजेटिभ आएको जानकारी आधिकारिक रुपमा पाएपछि आवश्यक सुरक्षा सतर्कता अपनाइने बताए।

‘मृत्युपछि गरिएको पिसिआर परीक्षण रिपोर्ट आइसके पनि कैयौं घण्टा गोप्य राख्नु प्रशासनको चरम लापरबाही हो’, प्रादेशिक अस्पतालका एक डाक्टरले भने, ‘समयमै रिपोर्टबारे सम्बन्धित पक्षलाई जानकारी गराउँदा सचेत हुनसक्छ। तर यसो नगर्दा संक्रमण झन झन बढ्दै गएको छ।’

उनी भन्छन्, ‘मृतकको रिपोर्ट पोजेटिभ आयो भनेर जानकारी गराउँदा उनको उपचारमा संलग्न चिकित्सकले पनि सतर्कता त अपानाउँथे। अन्य बिरामीलाई त जाँच्दैन्थ्यो। तर रिपोर्ट ढिलो दिँदा ती डाक्टरले कैयौं बिरामीलाई जाचिसकेको हुन्छ। अनि ती बिरामीलाई पनि त कोरोना लाग्छ नि।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.