|

दैलेख : गम्भीर खालका बिरामीको उपचारका लागि भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखले खरिद गरेका लाखौंका भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। कार्यालयले कोरोना महामारी देखाउँदै पाच महिनाअघि खरिद गरेको भेन्टिलेटर प्रयोगमा नल्याउँदा बिरामीहरु सुर्खेत र नेपालगन्ज उपचारमा जान बाध्य छन्। 

११ वटा स्थानीय तह रहेको दैलेखमा २०६८ सालको जनगणनाअनुसार २ लाख ६१ हजार ७ सय ७० जनसंख्याछ। २ लाख ५० हजार बढी जनसंख्या रहेको जिल्लामा नागरिकको उपचारका लागि कार्यालयले चैत २३ गते ४६ लाखमा भेन्टिलेटर खरिद गरेको थियो। तर सञ्चालनमा नआउँदा जटिल खालका बिरामीलाई बाहिर लैजानुपर्ने बाध्यता छ। 

जिल्लामै आइसियू सहितको भेन्टिलेटर सञ्चालनमा आउने भएपछि खुसी भएका नागरिक अहिले रिफरको मारमा छन्। 

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तले जनशक्ति नभएकाले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकिएको बताए। उनले भेन्टिलेटर सञ्चालनका लागि अक्सिजन प्लान्ट अभाव हुने गरेकाले बिरामीलाई रिफर गरिने गरिएको बताए। 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले भेन्टिलेटर सञ्चालनमा आएको र बिरामीको उपचार हुँदै गरेको दाबी गरेका छन्। स्वास्थ्यकर्मीहरु भने जनशक्ति अभाव, अक्सिजन प्लान्ट नहुनुले भेन्टिलेटर सञ्चालनमा नआएको बताउँछन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अस्पताल व्यावस्थापन समितिको कुरा फरक हुनुले नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड भएको देखिन्छ । 

सकेको व्यावस्थापन गरेका छौं : नगरपालिका

नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले नगरले भेन्टिलेटर जडानका लागि आफूबाट हुने सबै व्यावस्थापन गरेको बताए । ‘डाक्टरको सल्लाहअनुसार व्याकपलगायत अन्य व्यवस्थापन गरेका छौं, भेन्टिलेटर सञ्चालनमा किन आएन भन्ने मलाई जानकारी छैन,’ खड्काले भने।  


 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.