|

तनहुँ : चुनढुङ्गा निकाल्ने बहानामा ठेकेदारले जथाभावी उत्खनन् गर्दा तनहुँको व्यास नगरपालिका-११ रामथुम्कीका ४ घर जोखिममा परेका छन्।

खानी तथा भूगर्भ विभाग काठमाडौंमा दर्ता गरी ढुङ्गा उत्खनन् कम्पनी पशुपति क्वायरीले विभिन्न ठूला मेसिनरी उपकरण प्रयोग गरी जथाभावी ढुङ्गा निकाल्दा कम्पनका  कारण स्थानीयका घरगोठ भत्कन र चर्कन थालेका हुन्‌। चार घरपरिवार विस्थापित भइसकेका छन्‌।

​स्थानीय रामबहादुर गुरुङ, भीमबहादुर गुरुङ, जीवन गुरुङ र जुठीमाया घर्तीका घर पूर्ण रुपमा चिरिएर बस्नै नसक्ने अवस्थामा पुगेपछि करिव २० विस्थापित हुनुपरेको ६६ वर्षीय रामबहादुर गुरुङले बताए। ‘हामी यस ठाउँमा ४० वर्षदेखि बस्दै आएका छौं, पहिले-पहिले हावाहुरी तथा पानी पर्दा पनि घरमा कहीँ कतै केही नभएको थाहा पाएका थिएनौं, तर अहिले धाँजा फाटेको छ,’ उनले भने, ‘यसपाली असार पहिलो साता पानी परेपछि घरमा धाँजा फाटेर बस्नै नसक्ने अवस्थामा पुगेका छौं।’ 

वस्तीबाट करिव ५०/६० मिटर तल चुन ढुंगा निकाल्न मेसिनहरू प्रयोग गरिएपछि माटो कमजोर हुँदा बस्ती नै चिरिएर पहिरो जाने अवस्थामा पुगेको हो। समतल बारी पनि धाँजा फाटेर एकातिर अग्लो र अर्कोतिर होचो बनेको छ। घर चर्किएपछि विस्थापित तीन घरपरिवारलाई स्थानीय रामथुम्की युवा क्लबको भवनमा राखिएको छ। जुठीमायाले भने डेलीभरी हुने अवस्थाकी बुहारीसहित छिमेकीको घरमा आश्रय लिएकी छिन्‌।

भुकम्प जाँदा समेत कुनै क्षति नपुगेको ती घरहरूमा ढुंगा उत्खनन्‌पछि जमिन चिरिएर घर पहिरिने अवस्थामा पुगेपछि आफूहरू दिनमा घरमा पशु-चौपायालाई हेर्न आउने र राती क्लबको भवनमा सुत्न जाने गरेको भीमबहादुर गुरुङले बताए। ‘घर पहिरो जाने अवस्थामा पुगेपछि आफू बाँच्न समेत गाह्रो भएकाले वस्तुभाउ बचाउनकै लागि बाख्राहरू सस्तोमा बेचें,’ उनले भने, ‘घरको गाह्रोदेखि जमिनसम्म धाँजा फाटेपछि घरभित्र बस्न त के, खेतीपाती थन्क्याउन समेत सकेका छैनौं, पहिरोले कतै सबैलाई पुर्छ कि भन्ने त्रासमा बस्नु परेको छ।’

जिल्ला रेडक्रस सोसाइटी तनहुँले कम्बल र व्यास ११ वडा कार्यालयले त्रिपाल दिएपनि आफूहरूले अन्तबाट कुनैपनि राहत नपाएको जीवन गुरुङले बताए। ‘घर पहिरो जाने अवस्थामा पुग्दासमेत स्थानीय तहबाट कसैले वास्ता गरेका छैनन,’ उनले भने, ‘हामी गरीबको झुपडीमा नेताहरू मल्हम लगाउन होइन, भोट माग्न मात्रै आउने रहेछन्।’

ढुंगा उत्खननको क्रममा माटो कमजोर हुँदा घरहरू पहिरो जाने अवस्थामा पुगेपछि आफूहरूले कम्पनीमार्फत उचित क्षतिपुर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको व्यास ११ का वडाअध्यक्ष नीरबहादुर खड्काले बताए। ढुंगा उत्खननको क्रममा पहिरो जाने अवस्थामा पुगेका घरहरूमा नबस्न विस्थापित परिवारलाई सुझाव दिएको उनी बताउँछन्‌। ‘ढुंगा जथाभावी निकाल्दा समस्या सिर्जना भएको पाएका छौं,’ उनले भने, ‘विस्थापित परिवारलाई उचित क्षतिपुर्ति दिलाउन वडा कार्यालय लागि रहेको छ।’

आफूहरूले साविक घाँसीकुवा गाउँ विकास समितिसँग सम्झौता गरे बमोजिम नै मेसिनरी उपकरण प्रयोग गरी ढुंगा उत्खनन् गरेको पशुपति क्वायरीका निर्देशक ललित स्वार्गीले बताए। घरहरू जोखिममा परेको बारे आफू अनभिज्ञ रहेको उनले सुनाए। ‘हामीले सम्झौता अनुसार नै काम गरेका हौं,’ उनले भने, ‘तर अहिले भने ढुंगा उत्खनन् कार्य रोकिएको छ।’

उक्त कम्पनीले स्थानीय पाँच जनाको पुर्जा भएको र पर्ती गरी करिव ३५ रोपनी क्षेत्रफलमा ढुंगा उत्खनन् गर्दै आएको थियो। ३५ रोपनी क्षेत्र बाहिरको वन क्षेत्रमा समेत उत्खनन् गरेपछि स्थानीय करिव २ सय ५० जनाले डिभिजन वन कार्यालय तनहुँमा उजुरी गरेका थिए। त्यसपछि सो कम्पनीले उत्खनन् कार्य रोकेको थियो। ढुङ्गा उत्खनन् कार्य रोकिएको करिब ८ महिना भएको छ। 

खानीका कारण स्थानीय विस्थापित भएको उजुरी परेपछि ढुंगा उत्खनन् कम्पनीलाई पत्र काटेर स्पष्टिकरण माग गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। स्थानीय सरकारको रायसमेत माग गर्दै व्यास नगरपालिकाको कार्यालयलाई पत्राचार गरिसकेको उनले बताए।

‘यो विषयमा हामी कहाँ निवेदन परेको छ,’ उनले भने, ‘यथार्थ बुझ्न स्थानीय सरकारको राय माग गर्दै व्यास नगरपालिकाको कार्यालयलाई पत्राचार गरिसकेका छौं भने ढुंगा निकाल्ने कम्पनीलाई समेत पत्र काटेका छौं।’

ढुङ्गा उत्खननले रामथुम्कीका करिब दुई सय ५० घरपरिवार भूक्षयको जोखिममा पर्नसक्ने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.