बैतडी : आज भदौ १ गते। बैतडीसहित सुदूरपश्चिममा आजको दिन ओल्के संक्रान्तिको रुपमा हर्षोल्लासका मनाइँदैछ। ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठुलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो।
आजको दिन बिहानै नुवाइधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आफन्तलाई ओल्को दिने पनि गरिन्छ। वर्षापछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा यस क्षेत्रमा ओल्को चाड मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए।
ओल्कोको रुपमा फलफूल, सागपात, अन्न, दुध, दही, घिउ, गुड आदि बोकेर मान्यजन र आफन्त कहाँ भेटघाट गर्न जाने चलन छ। पछिल्लो समय कपडा, पैसा वा अन्य उपहार समेत दिने गरिन्छ। धेरै जसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन्। गुठियारहरुले ईष्ट देवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउने प्रचलन छ।
यो पर्व कुनै धामिर्क वा पौराणिकसँग सम्बन्धित नभई यस भेगका बासिन्दाहरुको मौलिक पर्व रुपमा पनि रही आएको छ। यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर मनाइन्छ। ओल्के संक्रान्तिका दिन गाउँ नजिकका डाँडामा सबैजना मिलेर रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भन्दछन्। यो बुढीलाई असोज संक्रान्तिका साँझ गाउँका सबैजना मिलेर एकैसाथ पोल्ने चलन छ।
ओल्के संक्रान्तिताका सतरति (सातरातको झरी) पर्दछ। यो समयमा आकाशमा तारा देखिएमा वा वन चर्न गएका भंैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने र ऋतुमति धर्तीले नवीन सिर्जना गर्ने थाल्ने विश्वास रहिआएको छ। प्रकृतिमा नयाँ नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्राहरु देखिनुका साथै धुलो धुवाँ र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्ने पनि विश्वास रहेको छ।
बुढी हाल्ने
ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्च ठाउँमा सबैजना मिलेर रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटविरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भनिन्छ। यो बुढीलाई असोज संक्रान्तिका साँझ प्रत्येक घरघरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलिन्छ। जसलाई ‘बुढी पोल्ने’ पर्व भनिने पण्डित दयाकृष्ण पन्तले बताए। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतना को कथासँग पनि जोडिएको छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा र भारतको कुमाउँ गढवालतिर मात्रै बुढी पोल्ने पर्व मनाइने गरिएको पन्तले बताए। घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने र घरबाट चिरेको काँक्रो लगेर पोलेको बुढीमा थुक्ने प्रचलन छ। यसरी बुढी पोलेमा वर्षभरि लुतो लगायतका रोगव्याधीबाट परिवारजन मुक्त हुने मान्यता रहेको छ।
भगवान कृष्णलाई पुतना राक्षेसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाराक्षेशनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रुप पैदा भएको तथा लाशलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्राटुक्रा पारेको दिनको सम्झनामा आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको कथा छ।
तर, पछिल्ला समय आधुनिकताका साथै युवापुस्ताले खासै ध्यान नदिँदा यो पर्व लोप हुँदै गइरहेको छ। यो पर्वलाई प्रतिष्ठाको पर्व भएकाले मनाउन अपरिहार्य रहेको जानकारहरुले बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।