प्रति भ्याक्सिन चार हजार रुपैयाँ, ल्याउन तीन कम्पनीलाई अनुमति

|
फाइल फोटो

काठमाडौं : सरकारले महामारीको रुपमा रहेको कोरोना भाइरसको औषधि नबनिरहेको समयमा इबोला भाइरसको उपचारमा प्रयोग गरिने रेमडिसिभर भ्याक्सिन नेपालमा परीक्षण गर्न अनुमति दिएको छ।

२ हजार भ्याक्सिन ल्याउन तीन वटा औषधि कम्पनीलाई आयात अनुमति दिएको हो। भारतबाट यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ लाइसेन्सले औषधि ल्याउने अनुमति पाएका हुन्।

हाल रेमडिसिभर भारतबाट सात वटा देशमा निर्यात भइरहेको औषधि ल्याउन अनुमति दिएको हो। भारतको गोवामा किप्ला कम्पनीले निर्माण गरिरहेको औषधि नेपाल ल्याउन अनुमति पाएको हो। हाल नेपाल, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, थाइल्याण्ड, म्यानमार, बंगलादेश र श्रीलंकामा निर्यात भइरहेका छन्।

शनिबार स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल चिकित्सक संघका प्रतिनिधिबीच भएको छलफलमा ७२ घण्टामा औषधि ल्याइ पुर्याउने अनुमति दिएको थियो।

प्रतिभ्याक्सिन भारतीय ४ हजार रुपैयाँमा खरिद

व्यवसायीले औषधि ७२ घण्टामा ल्याउने अनुमति पाए पनि समयमा ल्याउन नसक्ने भएका छन्। सरकारले दुई-तीन दिनमा ल्याउन भने पनि सरकारले भनेको समयमा औषधि ल्याउन नसकिने औषधि आयात कर्ता कम्पनी यती फर्माका अध्यक्ष प्रभु राज वैद्यले जानकारी दिए। औषधि ल्याउन सबै प्रक्रिया पूरा गरे पनि नेपाल आइपुग्न ८ देखि १० दिन दिन सम्म लाग्ने उनले बताए।

'एउटा भ्याक्सिनको भारतीय मूल्य ४ हजार पर्छ, २ हजार ल्याउने अनुमति पाएका छौं,' उनले भने, 'भारतीय कम्पनीले दिन्छ त्यसमा भर पर्छ। विभिन्न देशमा यसको माग भइरहेकोले भनेबमोजिम नपाइन पनि सक्छ।'

उनका अनुसार सरकारसँग सम्झौता भएसँगै औषधि ल्याएर बाहिर खुला रुपमा बिक्री गर्न पाइँदैन। कोभिड अस्पतालमा लगेर वितरण गरिन्छ। संकटका बेला सरकारलाई औषधि आयात गरेर सहयोग गरेको उनको भनाइ छ।

'मेडिकल काउन्सिल परिषदको प्रोटोकलअनुसार प्रयोग गरिन्छ'

रेमडिसिभर नेपालमा ल्याउन लागिएको औषधि अनुसन्धानका लागि ल्याउन लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए।

औषधि तेस्रो चरणमा रहेकोले अनुसन्धान गर्न पाइने उनको दाबी छ। विश्वव्यापी मान्यता अनुसार कुनै पनि औषधिको तेस्रो चरणमा अनुसन्धानमा रहेको बेला प्रयोग गर्न पाइने व्यवस्था भएकोले नेपालमा प्रयोग गर्न लागिएको उनले प्रस्ट पारे।

उनले भने, ' केही संक्रमतिको उपचार समयमा अध्ययन गर्दा निको पाएकोले यसलाई अनुसन्धानका लागि प्रयोगमा ल्याउन लागिएको हो।' सार्वजनिक रुपमा बिक्री वितरण गर्न नपाइने उनले बताए। कोभिड उपचार केन्द्रमा लगि औषधि वितरण गरिने उनको भनाइ छ।

रेमडिसिभर सबै संक्रमितलाई प्रयोगमा ल्याउन नमिल्ने र मेडिकल काउन्सिलको प्रयोगविधि तथा स्वास्थ्य प्रोटोकल अनुसार प्रत्यक्ष चिकित्सकको निगरानीमा प्रयोगमा ल्याइने डा. ज्ञवालीले जानकारी दिए।

'गम्भीर अवस्थाको संक्रमितलाई मात्र प्रयोगमा ल्याउन सकिन्छ,' उनले भने। बिरामी अनुमति लिएर मात्र प्रयोगमा ल्याइन्छ। 'आइसियुमा रहेका केहीलाई दिन सकिने तर पहिले अनुसन्धान प्रक्रियामा रहेकोलाई थोरैमा मात्र प्रयोग गर्न सकिने,' उनले थपे।

'कोरोनाको रेमडिसिभर अन्तिम औषधि होइन'

इबोला भाइरसविरुद्ध प्रयोगमा आइरहेको औषधिले भाइरस वृद्धि रोक्न सहयोग गर्ने गरेको केही अनुसन्धानबाट खुल्न आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेको दाबी छ।

औषधिबारे राष्ट्रिय अनुसन्धान परिषद्ले अनसन्धान गरेर औषधि ल्याउने अनुमति दिएको हुन सक्ने पाण्डेले जानकारी दिए। उनी भन्छन्,'  केही संक्रमितमा प्रयोग गरिसकेको ले सकरात्मक परिणाम दिएकाले पनि नेपाल ल्याउन लागिएको हुन सक्छ। तर, यो अन्तिम औषधि होइन्।'

औषधिबारे सम्पूर्ण अध्ययन गर्न जिम्मा पाएको स्वास्थ्य अनुसन्धान परिषदले केही परिणाम निस्कने भएकोले नै ल्याउन अनुमति दिएको हुन सक्ने पाण्डेले थाहाखबरलाई बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.