|

विराटनगर : विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडि प्रहरी र विद्यार्थीबीच झडप भएको छ। सडक निर्माणको क्रममा रहेको डोजरले महेन्द्र मोरङ क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी विराटनगर जतुवाका उमेशकुमार यादवलाई ठक्कर दिएर घाइते बनाएपछि उत्पन्न तनावमा झडप भएको हो।

झडपमा परी केही विद्यार्थी र प्रहरी घाइते भएका छन् । डोजरको ठक्करले घाइते भएका विद्यार्थीको न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको छ। अहिले पनि क्याम्पस तनावग्रस्त अवस्थामा छ। अध्ययन सकेर बाहिर निस्किएका विद्यार्थीलाई क्याम्पसको गेट नजिकै डोजरले ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका विद्यार्थीलाई डोजर ब्याग गरेर मार्न खोजेको भन्दै विद्यार्थी आक्रोशित भएका हुन्। उनीहरुले दुई वटा डोजरमा आगो लगाए पनि तत्कालै प्रहरीले निभाएको छ। 

यस्तै विद्यार्थीलाई घाइते बनाउने ड्राइभरलाई लुकाएको भन्दै नजिकै रहेको होटल चिनारीमा पनि विद्यार्थीले ढुंगामुढा गरेका छन्। विद्यार्थी नेता जिसस न्यौपानेले प्रहरीले क्याम्पस हाताभित्र पसेर विद्यार्थीमाथि कुटपिट गरेको आरोप लगाएका छन्।

‘दुर्घटना भइसकेपछि आवश्यक छलफल भइरहेको समयमा प्रहरीले आक्रमण गर्‍यो,’ न्यौपानेले भने, ‘क्याम्पसका विद्यार्थीलाई लाठी चार्ज र अश्रुग्यास प्रहार गरेर प्रहरीले पञ्चायती शैली अपनायो।’ मोरङका प्रहरी प्रम्ख एसपी सन्दीप भण्डारीले घटना सामान्य भएपनि विद्यार्थीले अनावश्यक उचालेको आरोप लगाए। घटना नियन्त्रणको प्रयास भइरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.