|

भद्रपुर (झापा) : कोरोना भाइरसको महामारी फैलिएपछि भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी चेकजाँचमा देशका अधिकांश भन्सारले कडाइ गरेका छन्‌। 

तर, झापामा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला भने लथालिङ्ग अवस्थामा छ। सरकारले बिर्तामोड नगरपालिका-५ स्थित कृषि बजारमा तरकारी र फलफूलको विषादी मात्र जाँच्ने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई सञ्चालनमा ल्याएको पाँच वर्षभन्दा बढी भइसक्यो। 

उक्त प्रयोगशालामा दक्ष कर्मचारीको अभाव छ भने एउटै कोठामा खुम्चिएर विषादीको परीक्षण गर्नुपर्ने बाध्यता छ। जसले गर्दा त्यहाँ कार्यरत कर्मचारीलाई समस्या भएको छ। भारतबाट आउने तरकारी तथा फलफूल चेक जाँच गर्दा कर्मचारीमा कोरोना भाइरस सर्ने जोखिम पनि उत्तिकै छ। 

भारतबाट भित्रिएका तरकारी तथा फलफूलको जाँच गराउन सम्बन्धित व्यक्तिहरू भन्सार कार्यालयबाटै सिधै प्रयोगशाला आउने गरेको पाइएको छ। कोरोना महामारीका बीच साँघुरो कोठाबाट काम गर्नुपर्दा झन् जोखिम बढेको प्रयोगशालाका प्राविधिकहरू बताउँछन्।

तरकारी तथा फलफूल भारतको संक्रमित क्षेत्रबाट आउने गरेकोले कोरोना जोखिम झन् बढेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइका प्राविधिक रचना कार्की बताउँछिन्। ‘सो सीमा नाकाबाट आउने व्यक्तिसँग सम्पर्क हुँदा झन् समस्या उत्पन्न भएको छ,’ उनले भनिन्।

‘कोरोना भाइरस सर्न जोखिम त छँदैछ,’ प्राविधिक महमद इस्लाम अन्सारीले भन्छन्‌, ‘साँघुरो कोठा, त्यसमाथि विषादी चेक जाँचमा प्रयोग हुने केमिकलले क्यान्सरजस्तो प्राणघातक रोग लाग्ने जोखिम त्यतिकै छ।’ उनका अनुसार जाँचका लागि विभिन्न प्रकारका औषधि तथा विषादी प्रयोग गर्नुपर्ने हुन्छ। कार्यालय व्यवस्थापन नहुँदा घातक विषादी एकै ठाँउमा राखेर काम गर्नु परेको बाध्यता रहेको उनले बताए। यसलाई व्यवस्थित बनाउने सरकारले बेलैमा ध्यान दिनुपर्ने उनको भनाई छ। 

प्रदेश नम्बर १ को झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालय र भद्रपुर भन्सार कार्यालय, सुनसरीको छोटी भन्सार कार्यालय सेतु बन्ध, मोरङको विराटनगर भन्सार कार्यालय रानीमा भारत हुँदै भित्रिएका फलफूल तथा तरकारी यही प्रयोगशालामा चेक जाँच हुने गरेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइका प्रमुख सुरेशकुमार साहाले बताए।

‘कार्यालयका समस्या भनेर साध्य नै छैन,’ साहले भने, ‘मलाई मात्र होइन, यहाँ कार्यरत सबै कर्मचारी डिप्रेशनको अवस्थाबाट गुज्रिरहेका छन्। क्षमताभन्दा बढी काम गरेपछि यस्तो अवस्था आएको हो।’

विगत एक वर्षदेखि प्रदेश नम्बर १ को कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि विकास केन्द्रीय प्रयोगशालाअन्तर्गत रहेको प्रयोगशाला स्थानीय तह मातहत ल्याउन नसक्दा यस्तो समस्या उत्पन्न भएको बिर्तामोड नगरपालिका ५ नम्बर वडाका कार्यवाहक वडा अध्यक्ष डीआर कडरियाले बताए।

फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्दा ३५ प्रतिशतसम्म भए खान मिल्ने र ३५ देखि ४५ प्रतिशत भए एक सातासम्म पर्खिएर पुनः परीक्षण गर्नुपर्ने हुन्छ। ४५ प्रतिशतभन्दा माथि भए पूर्ण रुपमा नष्ट गर्नुपर्ने प्रयोगशालाका प्राविधिकहरूको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.