|

काठमाडौं : गएको मंगलबार प्रेमनारायण खराल र विधान खरालले न्यूरोडमा रहेको ग्लोबल आईएमई बैंकबाट ४ लाख २७ हजार रुपैयाँ झिकेर निस्किएका मात्र थिए। ‘हामी प्रहरी हौँ, तिमीहरुले हुण्डीको काम गर्दोरहेछौ, तिमीहरुलाई कारबाही हुन्छ,’ भन्दै ६ जनाको समूहले उनीहरुलाई समाएर लिएर गए।

खराल दाजुभाइले पनि प्रहरी नै होलान् भन्ठानेर चुपचाप उनीहरुसँग गए। डल्लुबाट ट्याक्सीमा चढाइ बसुन्धारा लगियो। त्यसपछि खुकुरी देखाएर धम्की दिँदै उनीहरुको साथमा रहेको ४ लाख २७ हजार रुपैयाँ लुटियो। दुवैजनालाई लुटेर ती सबै फरार भए।

आफूलाई प्रहरी बताउने व्यक्तिहरुले झण्डै साँढे चार लखा लुटेपछि ती दाजुभाइ प्रहरीकोमा पुगे। प्रहरी कै नाममा लुटिएको थाहा पाएपछि लुटेराको समूह खोजी सुरु भयो। खोजी गर्दै जाँदा प्रहरीले नारायण बानियाको समूहलाई पहिचान गर्‍यो। त्यसपछि पक्राउ गरी अनुसन्धान गर्दै जाँदा बानियासहित ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश अमात्यले जानकारी दिए।

प्रहरीले गोरखा ताप्लेका २७ वर्षीय नारायण बानियासहित रुकुम रनमा माइकोटका २७ वर्षीय विश्वास घर्ती मगर, गोरखाका २२ वर्षीय सुदिप थापा मगर, २७ वर्षीय अशोक बानिया, रुकुमका २३ वर्षीय धनकुमार परियार र गोरखाका २४ वर्षीय शिवबहादुर बानियालाई पक्राउ गरेको हो। शिव र अशोक नेपाली सेनाका पूर्व कर्मचारी हुन्।

‘उनीहरुले एक महिनाअघि देखि योजना बनाएर बैंकमा रकम झिक्न आउने व्यक्तिको निगरानी गरिराखेका रहेछन्’, एसएसपी अमात्यले भने– ‘प्रहरीले शंका नगरोस् भनेर प्रहरीसँग नजिक भएर प्रहरीहरुलाई सुचनाहरु पनि दिने गरेका थिए।’ 

उनीहरुसँग रहेको ७ लाख २७ हजार रुपैयाँ, तीनवटा चेक, पाँचवटा आइफोन, तीनवटा मोबाइल र पर्सहरु प्रहरीले बरामद गरेको छ। उनीहरुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको एसएसपी अमात्यले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.