|

प्रदेश ५ को पुछारको जिल्ला बर्दिया, त्यसमा पनि सदरमुकामबाट अलि पर रहेको ठाकुरबाबा नगरपालिका, ग्रामीण भेगमा अवस्थित छ। ठाकुरबाबाका स्थानीयको मुख्य पेसा कृषि र पशुपालन नै हो। 

यहाँ पर्यटकीयस्थल पनि भएकाले केहीले पर्यटनलाई पनि आफ्नो पेसा बनाएका छन्। वन र वन्यजन्तु संरक्षणमा पनि यस क्षेत्रमा मध्यवर्ती क्षेत्रका स्थानीयले ठूलो योगदान दिएका छन्। तर अहिले कोरोना महामारीका कारण भने पर्यटन व्यवसाय ठप्प छ। 

यहाँ मानव वन्यजन्तुबीचको द्वन्द्वका कारण पनि स्थानीय आक्रान्त बनेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जको काखैमा रहेको यो नगरपालिकाले कोरोना महामारीमा नगरवासीको हितमा के काम गरिरहेको छ ? त्यसबारे गरिएको कुराकानी

१. यहाँका धेरै युवा रोजगारी गुमाएर फर्किएका छन्, उनीहरुको व्यवस्थापनको योजना कसरी बनाउनुभएको छ ? 

कोरोनाको विषम परिस्थितिमा गुज्रिरहेका छौं। यो सन्दर्भमा अहिले देशका विभिन्न ठाउँबाट र भारत लगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका युवाहरु गाउँ फर्किएका छन्। हामीले यो बर्षको कार्यक्रममा नगरपालिकाका युवालाई स्वरोजगार गर्ने गरी विशेष बजेट छुट्याएका छौं। कृषि र पशुपालनमा ६ करोड बराबरको बजेट छुट्याइएको छ। त्यसबाट हामी विभिन्न खालका कृषि उद्यमहरु सञ्चालन गर्ने छाैं।

२. कोरोना महामारीबीच विकासका काममा कत्तिकाे असर पुग्याे ? के हुँदै छन् काम ? 

हो, वास्तवमा हाम्रो नेपालको पूर्वाधार विकासको चरण भनेको माघ फागुनतिर हो। हामी त्यो बेला विकासका कामहरु थालनी गर्दै थियौं। कोरोना महामारीको चपेटामा हामी आयौं। जसका कारणले गर्दा थुप्रै योजना अलपत्र पर्ने अवस्था सिर्जना भयो। हामीले लकडाउनकाे बीचमै केही महत्वपूर्ण योजना भने बनायाैं। हामीले गएको आर्थिक वर्षमा झण्डै ८० प्रतिशत योजना सम्पन्न गरेका छौं। र यो आर्थिक वर्षमा पनि हामीले वार्षिक कार्ययोजना बनाएका छौं। 

३.ठाकुरबाबा नगरपालिकामा कोरोना संक्रमणको अवस्था के छ ? कोरोना नियन्त्रणमा कति खर्च भयाे ?

कोरोना महामारी सुरु भएको समयमा सुरुमा नगरले विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्यो। हेल्थ डेक्सको स्थापना साथसाथै बाहिरबाट आएका व्यक्तिहरुको व्यवस्थापनका लागि क्वारेन्टीनको व्यवस्था गर्यो। अहिले आइसोलेसन समेत नगरले व्यवस्था गरेको छ। आइसोलेसनमा बस्नेको संख्या झण्डै २ दर्जन बढी छन्। अहिले क्वारेन्टाइनमा ५० जना छन्। 

हामीले काेभिडसँग जुध्न विशेष बजेटका व्यवस्था गरेका थियाैं। हामीले स्वरोजगारका लागि भनेर १ करोड १० लाख रुपैयाँमा कार्यक्रम सञ्चालन गर्यौं। औषधि उपचारलगायत क्वारेन्टाइन र आइसोलेसन सञ्चालनमा पनि नगरले ठूलो रकम खर्च गरेको छ। त्यो झण्डै डेढ करोड हाराहारीमा भएको अनुमान छ। समग्रमा नगरले कोरोना महामारी नियन्त्रणमा झण्डै साढे २ करोड बढि खर्च गरेको तथ्यांक छ।

४. अहिले जताततै संक्रमण तीव्र रुपमा फैलिरहेको छ। कोरोना नियन्त्रणमा पालिकाले लापरबाही गर्यो भन्ने पनि गुनासो छ नि, के भन्नुहुन्छ ?

होइन। वास्तवमा यो अत्यन्त जटिल खालको अवस्था सिर्जना भयो। हामीले लकडाउन गरेर मात्रै पनि समस्याको समाधान नहुने। नागरिकहरुलाई रोजगारी पनि चाहिने, खान लाउन जोहो पनि गर्नैपर्ने, उद्योग व्यवसाय पनि सञ्चालन गर्नुपर्ने। 

हामी निरन्तर नागरिकलाई सचेत बनाउँदै उत्प्रेरित गर्दै आइरहेका छौं। पछिल्लो पटक केही समय लकडाउन खुला गरिएपछि संक्रमण समुदायस्तरमै फैलिने जोखिम बढेको हो। त्यसलाई नियन्त्रणका लागि फेरि निषेधाज्ञा जारी गरेका छौं। हामी अत्यन्त सजक भएर लागिरहेका छौं। 

५.संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेपछि जिल्लास्तरबाटै निषेधाज्ञा गरिएको छ। त्यसमा पालिकाले के सहयोग गरिरहेको छ ?

सम्पूर्ण नागरिकलाई सचेतनामूलक ढंगबाट सुरक्षित रहन पालिका आग्रह गरिएको छ। अहिले संक्रमण समुदायस्तरमै फैलन सक्ने सम्भावना बढ्दै गएकाले अत्यावश्यक कामबाहेक घर बाहिर नजानसमेत अनुरोध गरेका छौं। 

सबै बजार व्यवसाय, सबै कार्यालय, उद्योगधन्दाहरू अहिले बन्द गरिएको छ। निषेधाज्ञाको अवधिमा परिस्थिति अध्ययन गरिँदै छ। केही ठाउँमा समुदाय स्तरमा पनि स्याम्पल परीक्षण गरिरहेका छौं। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.