देउवाले गम्भीर भएर निर्णय लिन नसकेको केन्द्रीय सदस्यहरुको आरोप

|

काठमाडौं : नेपाली कांग्रेसका नेताहरुले पार्टीकै कमजोरीका कारण पछिल्ला दुई सातामा सरकारले गरेका केही निर्णय विवादास्पद भएको बताएका छन्। प्रहरी महानिरीक्षक बढुवा प्रकरण र राजदूत नियुक्तिमा सरकारले गरेको निर्णय विवादास्पद हुनुमा पार्टी सभापति शेरबहादुर देउवा र उनका सहयोगीहरु नै जिम्मेवार रहेको नेताहरु बताउँछन्।

सभापति देउवा निकटका प्रभावशाली नेताहरु गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी र मोहनबहादुर बस्नेत तथा सांसद रामहरि खतिवडाले पार्टी सभापति देउवालाई उनी निकटका सहयोगी र मन्त्रीहरुकै भूमिका कमजोर रहेको गुनासो गरे। ‘आइजीपी बढुवा र राजदूतमा सिफारिस गर्दा पार्टीमा छलफल भएको होइन’, नेता गोपालमान श्रेष्ठले थाहाखबरसँग भने ‘पार्टीलाई जानकारी नदिई राजदूत नियुक्ति गर्न सिफारिस र सल्लाह गर्ने परराष्ट्रमन्त्री र प्रहरीमा किन विवाद भयो भन्ने बिषयमा सम्बन्धित मन्त्रीले नैं जिम्मेवारी लिनुपर्छ।’

पार्टीका पूर्व उपसभापति श्रेष्ठले सरकारमा गएका पार्टीका नेताहरुले सभापति देउवालाई उचित सल्लाह र सुझाव दिन नसकेको जनाए। सरकारले फागुन एक गते प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेपछि त्यो निर्णय कार्यान्वयन नगराउन सर्वोच्च अदालतले आदेश दिएको छ । त्यस्तै सोमबार मात्र कांग्रेसको सिफारिसमा संयुक्त अरब इमिरेट्नसका लागि राजदूतमा सिफारिस गरिएकी आशा लामा विवादास्पद छविकी र वैदेशिक रोजगार व्यवसायी हुन्। आशा गत संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर चारबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार भएकी थिइन्।

लामाले वैदेशिक रोजगारीका लागि संयुक्त अरव इमिरेट्समा पठाएका कतिपय महिलाहरुको विचल्ली भएको गुनासो पार्टी सभापति देउवासम्म पुगेको छ। सभापति देउवाले लामाको पृष्ठभूमि के हो भनेर परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतमाथि स्पस्टीकरण लिँदा उनले पार्टी पूर्व केन्द्रीय सदस्य जीपछिरिङ लामाको सिफारिसमा आशालाई अघि सारेको जवाफ दिएका थिए।

प्रलोभनमा परेर सिफारिस गरिएको भन्दै बैदेशिक रोजागार कम्पनीका सञ्चालक र पार्टी निकटको लोकतान्त्रिक बैदेशिक रोजगार संघले आरोप लगाएपछि देउवा विवादमा परेका छन्। 'कुनै निर्णय गर्दा पार्टी नेतृत्वले गम्भीर भएर त्यसको प्रभाव देश, जनता, पार्टी र प्रणालीलाई के पर्छ भन्ने सोच्नु पर्छ’ कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले भने ‘विवादस्पद छबि भएका व्यक्तिलाई राजदूतमा सिफारिस गरिनु त्रुटी हो।’

'सरकारमा बसेकाले ढंग पुर्‍याएर काम गर्न सकेनन्'

त्यस्तै, पर्याप्त समय छँदै प्रहारी महानिरीक्षक बनाउने बिषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री बिमलेन्द्र निधिले सभापतिसँग पर्याप्त छलफल र सल्लाह नगरेको केन्द्रीय सदस्यहरुले गुनासो गरे। ‘सरकारमा बसेकाहरुले ढंग पुर्‍याएर काम गर्न सकेनन्’, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत भन्छन् ‘सरकारमा बसेकाहरुले हड्बडाएर प्रहरीका डीआइजीलाई फड्को मारेर बढुवा गर्दा समस्या आएको हो।’

सरकारमा गएका पार्टीका सांसदहरुको बिषयमा पार्टी केन्द्रीय कार्यसमितिमा छलफल गर्न आवश्यक भएका नेता बस्नेतले वताए। उनी भन्छन ‘सरकारले परिपक्व निर्णय गर्न सकेन, प्रहरीका डीआजीमध्ये एक जनालाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) मा बढुवा गरेर महानिरिक्षक बनाएको भए बिबाद हुँदैनथ्यो।’

पार्टी नेतृत्व (सभापति देउवा)को वरिपरी निस्वार्थी सल्लाहकार राख्नु नैं कमजोरी भएको बताउँदै नेता भण्डारीले भने ‘नेतृत्वमा केही न केही कमजोरी छ, त्यसलाई सच्याउनु पर्छ।’ सांसद रामहरि खतिवडाले नाता र दाता हेरेर सरकारले निर्णय गरेर पार्टीका त्यागी, निश्वार्थी र क्षमतावान व्यक्तिलाई पाखा लगाइएको बताए।

‘राजदूतमा नातावाद र दातावादलाई प्राथमिकता दिएर सरकारले गलत सन्देश दिएको छ’, कांग्रेस सांसद खतिवडाले थाहाखबरसँग भने 'दाता, सम्धी र सासुलाई राजदूतमा सिफारिस गरिँदा कांग्रेसलाई क्षति पुर्‍याएको छ।’ देउवाकी सासु प्रतिभा राणा पनि राजदूतमा सिफारिस भएकी छन्। 

पार्टीमा पर्याप्त छलफल र अध्ययन गरेर मात्र सरकारमा बस्ने मन्त्रीहरुले निर्णय गरेको पाइएन भनेर पार्टीका धेरैको गुनासो रहेको भन्दै नेता बस्नेतले आगामी दिनमा कमजोरी नगर्न र गल्ती नदोहोर्‍याउन आग्रह गरिएको बताए। उनले भने ‘यस्ता त्रुटी र गलत कार्यको केन्द्रीय कार्य समितिमा कुरा उठाउने छौं।’

पार्टी सभापति देउवालाई कमजोर र गल्ती देखाउन उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधि र परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले नै कमजोरी गरेको भन्दै आरोप लागिरहे पनि दुबै जना थाहाखबरसँग सम्पर्कमा आउन चाहेनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.