|

भक्तपुर : भाद्र शुक्ल पक्ष चतुर्थीको अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनाका साथ बिहान गणेश र राति चन्द्रमाको पूजा गरी धुमधामका साथ चथाः पर्व मनाउँदैछन्।

भगवान गणेशको जन्म दिन समेत मानिएको चतुर्थीको दिन नेवार समुदायले बिहानै घर चोख्याएर गणेशको पूजा गर्छन्। गणेशलाई दुवो, लड्डु र मुला चढाउँछन्। यसो गर्दा भगवान गणेश खुसी हुने र मनोकामना पूरा हुने जनविश्वास छ।

गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले दशैं भित्र्याउने चाडको रुपमा समेत लिने गरेको छ। दशैंको प्रारम्भ पर्वको रुपमा लिने भएकाले नेवार समुदायले आजको दिन विशेषगरी घरघरमा मासु भित्र्याउने चलन पनि रहेको छ। नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैं पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास छ। आजकै दिन भक्तपुरका किसानहरुले आ–आफ्ना अदुवा खेतीको पूजा गर्ने प्रचलन समेत रहेको छ। 

साँझ चन्द्रमाको पूजा गर्ने परम्परा रहेको छ। चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास रहेको छ। साँझ कमलको पात, कमलको पात नभए हलेदोको पातमा नैवेद्य, काँक्रो, नासपाती, अनार, अम्बा तथा केराउ, चना, बकुल्ला, मकै, भटमास, गहुँलगायत आठ प्रकारका भुटेको गेडागुडी राखेर चन्द्रमाको पूजा गर्ने गर्दछन। घरका सबैजना बसेर चन्द्रमालाई चढाएको फलफूल तथा गेडागुडी प्रसादको रुपमा खाने चलन छ।

नेवार समुदायमा चन्द्रमाको पूजा गर्ने दुईवटा परम्परा रहेको छ। एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोकामा समेत पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाश समेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पुजा गर्ने गर्दछन्। अर्को थरी समुदाय घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतीक्षामा बस्ने र चन्द्रमा देखा परेपछि मात्र पूजा गरी प्रसाद खाएर घरभित्र जाने प्रचलन रहेको छ।

राति चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरंग अस्थायी र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देश समेत दिने गरेको संस्कृतिविद् तथा इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। 

पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकी रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जो कोहीलाई चोर दोष लागोस् भनेर श्राप दिएछन्। गणेशको त्यही श्रापको प्रभावले त्यस दिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो। 

त्यसपछि देवीदेवताहरु समेतले चन्द्रमाको मुख हेर्न छाडिदिए। यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भयो र चन्द्रमा बाहिर आउन, हिँड्डुल गर्न समेत नसक्ने अवस्थामा पुग्यो। त्यसपछि चन्द्रमा महादेवको शरणमा गयो र उनै महादेवको सहयोगले गणेशलाई दुवो, लड्डु र मुला चढाई क्षमायाचना गरे।

चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखि भाद्र शुक्ल चौथीको एक दिनबाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने बरदान दिए। साथै, गणेशले राति विधिपूर्वक चन्द्रमाको पूजा गरे सो दिनमा चन्द्रमा दर्शन गरे पनि चोर दोष नलाग्ने बरदान समेत दिएकाले गणेश चतुर्थीको दिन राति चन्द्रमाको पूजा गर्ने परम्परा बसेको लोककथन पाइन्छ।

आजै ईन्द्रजात्राका लागि भक्तपुरबाट काठमाडौंको बसन्तपुरसम्म लिंगो लैजाने परम्परा रहेको छ। यसवर्ष कोरोना महामारीका कारण लिंगो लैजान स्थगित गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.