'कोभिड र ननकोभिडको उपचार एकै ठाउँमा गर्दा संक्रमण झन फैलन्छ'

|

काठमाडौं : मुलुकभर पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारी अस्पतालमा चाप बढ्यो। सरकारले संक्रमितको उपचारका लागि निजी अस्पताललाई पनि आग्रह गरिसकेको छ। तर, मुलुकभर सञ्चालित केही निजी मेडिकल कलेज तथा अस्पतालबाहेक अन्य निजी स्वास्थ्यसंस्थाले संक्रमितको उपचार गरेका छैनन्।

सरकारले निर्धारण गरेको कोभिड अस्पतालमा संक्रमितको संख्या बढ्दै गएपछि अहिले बिरामी राख्ने बेड अभाव छ। संक्रमितको संख्या बढ्न थालेपछि निजी अस्पताल तथा मेडिकल कलेजलाई सरकारले कोभिड उपचारको लागि २० प्रतिशत बेड छुटाउन आग्रह गरेको थियो।

केही निजी मेडिकल कलेज र अस्पतालले संक्रमितको उपचार गर्न थालिसकेका छन्। उपत्यकामा पाँच वटा निजी अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेका छन्। नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, वयोधा अस्पताल र कलंकीको एसी अस्पतालमा संक्रमितको उपचार भइरहेको छ।

तर, धेरै निजी अस्पतालले कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन बेड तयार गरेपनि उपचार गराउनको लागि असमर्थ रहेको जनाएका छन्।

मुलुकभर कोभिडको संख्या थोरै हुँदा निजी अस्पतालले आइसोलेसन बेड बनाएको भएपनि पछि संक्रमितको उपचार गर्न मापदण्ड पुर्‍याउन नसकेको भन्दै कोभिड संक्रमितको उपचार गर्न नसक्ने जनाएका थिए।

उपत्यकामाभित्र निजी क्षेत्रबाट सञ्चालित केही अस्पतालले उपचार गर्न नसक्ने परिपत्र गरिसकेका र केही अस्पतालमा उपचार गर्नको लागि भौतिक सुविधा नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपाल मेडिकल कलेजमा ८ जना संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा ४१ बेडको आइसोलेसन कक्ष सञ्चालनमा रहेको अस्पतालका उपनिर्देशक प्रकाश पौडेलले जानकारी दिए। सरकारको निर्देशन बमोजिम २० प्रतिशत बेड छुटाएर उपचार थालिएको उनको भनाइ छ।

'भर्ना भएका सबै संक्रमित लक्षणविहिन छन,' पौडेलले भने, 'कोभिड र नन कोभिडको बिरामीलाई एकै ठाउँमा राखेर उपचार गराउँदा अस्पतालमा संक्रमणको जोखिम बढ्छ।'

बल्खुस्थित बयोधा अस्पतालमा १० बेडको आइसोलेसन छ। अस्पतालले १ कर्मचारी सहित ३ जनाको उपचार गरिरहेको छ। उपचार गर्दैगर्दा कुनै बिरामीमा कोरोना पुष्टि भएमा संक्रमितको उपचार गरिने अस्पताल प्रशासनले जनाएको छ।

'निजीले उपचार गर्न मानेनन्'

थापाथलीस्थित नर्भिक अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसक्ने भएको छ। ठूला भनिएका ग्राण्डी र मेडिसिटी अस्पतालमा संक्रमितको उपचार गर्नसक्ने भौतिक सुविधा नभएकोले मन्त्रालयको नाम लिस्टमा पर्न नसकेको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारी बताउँछन्। केही अस्पतालले संक्रमितको उपचार गर्छु भनेपनि अहिले आएर नगर्ने भनी मन्त्रालयलाई जानकारी गराएको उनले बताए।

सहप्रवक्ता अधिकारी भन्छन, 'संक्रमितको संख्या बढेपछि सबै अस्पतालले उपचार गर्छन्। परिस्थितिले सबैलाई उपचार गर्न बाध्य बनाउँछ।' मन्त्रालयले केही दिनमा निजी अस्पतालमा संक्रमितको उपचार गराउन सहज मोडालिटी बनाउन लागेको उनले जानकारी दिए।

कोभिड र नन-कोभिडको उपचार एउटै अस्पतालमा सम्भव छैन

निजी अस्पतालले कोरोना संक्रमितको उपचार गर्न किन नमानेको? भनी प्रश्न गर्दा एसोसिएसन अफ प्राइभेट हस्पिटल एण्ड नर्सिङ होम (अपीन) का वरिष्ठ उपाध्यक्ष कुमार थापा भन्छन्‌, 'निजी अस्पतालमा संक्रमितको उपचार गर्न आइसोलेसन कक्षसहितको बेड बनाएका थियौं। कतिपय अवस्थामा अस्पतालमा आएका अन्य रोगका बिरामीलाई ठाउँको अभाव हुने भयो। संक्रमित र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्न सकिने अवस्था छैन।'

सरकारले संक्रमितको उपचार गर्नको लागि २० प्रतिशत बेड छुट्याउन भनेपनि त्यो सम्भव नरहेको थापाले बताए। कोभिड र नन्‌कोभिडलगायत सबैलाई एउटै अस्पतालमा राखेर उपचार गर्न सम्भव नभएको उनी बताउँछन्। संक्रमितलाई एउटै अस्पतालमा राखेर उपचार गराउँदा अझ बढी संक्रमण फैलने त्रास हुने उनले बताए।

कोरोना संक्रमितको उपचार थाले अस्पतालमा अन्य रोग लागेका बिरामी उपचार गर्न नआउने उनले बताए। 'कोभिड संक्रमितको उपचारको लागि छुट्टै भवनको प्रयोग गरिनुपर्ने भएकाले यस विषयमा सरकारलाई जानकारी गराइसकिएको छ,' उनले थपे।

सरकारसँग वार्ता गर्न निजी अस्पताल सञ्चालक तयार रहेको र एक साताभित्र ठोस निर्णय गर्ने उनले बताए। थापाले भने, 'राज्यलाई अप्ठयारो पर्दा सहयोग नगर्ने भन्ने हुन्न। तर, अस्पतालका स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी हुनुपर्छ।'

'निजी अस्पतालले संक्रमितको उपचार गर्नुपर्छ'

निजी अस्पतालले कोभिड उपचारको लागि सबै अस्पताललाई जिम्मा दिने भनेर घोषणा गरेका थिए तर, अहिले आएर निजी अस्पतालले पन्छिन नमिल्ने मेडिकल काउन्सिलका एक उच्च अधिकारीले बताए। निजी अस्पतालले छुट्याइएको २० प्रतिशत कोटाअनुसार उपचार नगरेपनि केही संक्रमितको उपचार गरिनुपर्ने उनको भनाई छ।

सरकारले आग्रह गरेपछि १६ वटा निजी अस्पतालले उपचार गर्ने भनेका थिए। तर, पछिल्लो दिनमा आएर केही अस्पतालले नाम झिकेको उनले जानकारी दिए। संक्रमितको उपचार गर्नको लागि निजी अस्पतालले आनाकानी गर्न नहुने उनले प्रस्ट पारे। 'संकटको समयमा निजी क्षेत्रले राज्य र नागरिकलाई सेवा दिनुपर्छ,' उनले भने।

सरकार र निजी अस्पताल सञ्चालकले वैधानिक रुपमा कोभिडको उपचार गर्नको लागि सहमति जनाउनुपर्ने उनी बताउँछन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.