करिब १५ वर्ष अगाडि
पातलो बस्तीहरूबाट
साँघुरो गोरेटोहरू पहिल्याउँदै
समवेदना र दुखका हुस्सुहरू एकनास बाक्लिएपछि
गीता, बाइबल त कुरानलाई साक्षी राखेर
एक मुठी मुक्तिका दियालोहरू बाल्दै
उ क्रान्ति गर्न हिँडेको थियो
यही देशको आकाशभित्र
क्रान्तिको उद्घोष गर्दै
चेतनाका परेवाहरू उडाउँदै थियो
आफ्नै घरको दैलोमा कोरेको थियो
माओ स्टालिनका तस्वीरहरू
आफ्नै घरमा गाडेको थियो
विद्रोहको झण्डा
आफैंसँग गर्याे विद्रोह पहिलो पटक
आफैंतर्फ तेर्स्यायाे
बन्दुक पहिलोचोटि
दीर्घ स्वाभिमानको खोजीमा
कसेको थियो मुठी
मेचीकालीका उत्साहहरू बोकेर
हरेक धड्कनको ताजसँगै
एउटा जीवन क्रान्तितर्फ मोडेको छ।
आफ्ना हरेक थकानमा
मेचीकालीकाे आभाष गर्छ
अनि भोक खाएर
बन्दुकसँगै निदाउँछ।
समवेदना भनौं वा दु:ख
प्रचण्डताप गर्मीले निम्त्याएको
प्यास भनौं वा
शताब्दीदेखि को धैर्यता
हिउँदकाे तुसारोले कठ्याङ्ग्रेको
हात भनौं वा पूरै शरीर
विद्रोही भनौं वा
स्वतन्त्रताको पहरेदार
उसले विद्रोहको मसाल
बाल्दै
क्रान्तिमा होमिएको
१५ वर्ष भएको छ।
आज ठीक १५ वर्ष पछाडि
निलिमा हराएझैं
लालीमा बिलाएझैं
बाचुन्जेलसम्म
दमनको साङ्लोमा बाँधिएर
अर्को एउटा सर्वहारा जन्मायो
र स्मृतिका क्रान्तिहरू
स्मृतिकै नशामा बगिरहेका छन्
न युगले मलाइ स्टालिन बनायो
न म ट्रोस्की बन्न सकें।
विश्व भण्डारी
तपाईंको ईमेल गोप्य राखिनेछ ।