ओलीले दुवै पद छाड्नु नपर्ने, विवादको निकास महाधिवेशनबाटै

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न निर्माण गरिएको कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र अध्यक्ष दाहालले पार्टीको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने गरि सुझाव दिएको छ। 

एक साता लामो छलफलपछि कार्यदलले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई बुझाएको १७ पेज लामो प्रतिवेदन यस्तो सुझाव दिइएको हो। 

पार्टीभित्र प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीचको शक्ति संघर्षको कारणले पार्टी फुटको संघारमा पुगेपछि २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्नुपर्ने कार्यदलले सुझाव दिइएको छ। 

‘ओलीले अब यो कार्यकाल सरकारको नेतृत्व गर्ने र दाहालले कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व गर्ने प्रतिवेदनमा उल्लेख छ’ स्रोतले भन्यो, ‘त्यसमा पार्टीले सरकार सञ्चालनमा सहयोग गर्छ। तर, पार्टीभित्रको गतिविधिमा सहमतिमा हुने भए पनि ओलीले हस्तक्षेप गर्न पाउनुहुन्‍न।’

प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी दुवै सञ्चालन नभएको भन्दै अध्यक्ष दाहालसहितका नेताहरुले दुवै पदबाट राजीनामा माग गरेका थिए। तर, ओलीको राजीनामा मागेपछि पार्टी विभाजनको दिशातर्फ गएकाले ओलीले तत्कालका लागि दुवै पदबाट राजीनामा दिनु पर्ने पक्षमा दाहाल नेपाल समूह पनि पुगेका छन्। 

‘पार्टीभित्रको विवादमा अब ओलीले दुवै पदबाट राजीनामा दिनु पदैन। तर, अब महाधिवेशनबाटै सहमतीमा सबै कुराको निकास दिनुपर्ने सुझाव समेत दिइएको छ’ स्रोतले भन्यो, ‘अहिले पार्टीभित्रको विवाद सहमतीमा समाधान हुन्छ। बाँकी नमिलेका वैचारिक राजनीतिक मुद्दा महाधिवेशनबाटै छिनोफानो हुन्छ।’ 

प्रतिवेदनमा मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर, ओलीले यसअघि जस्तै एकलौटी निर्णय लिन नपाउने, पार्टी एकताको काम टुंगोमा पुर्‍याएर महाधिवेशनको तयारीमा जाने, राजनीतिक नियुक्तिमा पार्टीसँग सहमति हुनुपर्ने, असार १० गतेबाट जारी स्थायी कमिटीको बैठक राखेर सरकार र पार्टीको समीक्षा गर्नुपर्ने, बैठकमा ओलीको राजीनामा बिषयले प्रवेश पाउन नहुने, पार्टी एकताको बाँकी काम सक्ने, शान्ति प्रक्रियाका बाँकी प्रक्रिया टुंगोमा पुर्‍याउने लगायत विषयमा समेटिएको स्रोतको दाबी छ। 

कार्यदलले पार्टीसँगै सरकारको गति पनि बढाउन संघदेखि प्रदेशसम्म हेरफेर गरेर जानु पर्ने सुझाव दिएको छ। जस अनुसार संघीय मन्त्रिपरिषद् पुनर्गठनदेखि प्रदेशका केही मुख्यमन्त्री हेरफेरसम्म रहेका छन्।   

कार्यदलले बुझाएको प्रतिवदेन अब अध्यक्षद्धय, सचिवालय हुँदै स्थायी कमिटीमा छलफल हुने समेत भएको छ। स्थायी कमिटीको बैठकको निर्णयअनुसार केन्द्रीय कमिटीबाट महाधिवेशनको टुंगो लगाएर पार्टीभित्रको समस्यालाई निकास दिनुपर्ने सुझाव समेत दिइएको छ। 

पार्टीभित्रको विवाद समाधान गर्नका लागि दुई अध्यक्षले महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्व गत शुक्रबार कार्यदल गठन गरेको थियो। कार्यदलमा पौडेलसहित शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए। कार्यदलले आज प्रतिवेदन बुझाएसँगै विघटन समेत भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.