|

भक्तपुर : राजनीति गर्ने र त्यसको वरिपरि रहने मानिसहरू चर्चाका लागि कतिसम्म जोखिम मोल्छन्‌ भन्ने उदाहरण भक्तपुरमा देखिएको छ। सांसद महेश बस्नेतसहित सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरूले कोरोना महामारी नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाकै बीच सप्तऋषिको मुर्ति प्राणप्रतिष्ठा र उद्‌घाटन गरेका छन्‌। 

भक्तपुरलगायत काठमाण्डौं उपत्यका तीन जिल्लामा भदौ ३ गते राती १२ बजेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेको छ। निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै बन्द गरिएको छ। खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको पसल समेत निश्चित समय सिमा तोकेर खोल्न पाइने व्यवस्था गरिएको छ।

सर्वसाधरणलाई विना काम हिँड्डुल गरेर निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले सडकमा केही घण्टा रोकेर गरेर छाड्ने गरेका छन। जिल्ला प्रशासन कार्यालयले मेला-महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न तथा सभा/जुलुस गर्न रोक लगाइएको छ भने धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालन, जमघट समेत प्रतिबन्ध लगाएको छ। 

तर, भक्तपुरमा निषेधाज्ञाबीच नै मुर्तिको प्राणप्रतिष्ठा र उद्घाटन भएको हो। शनिवार सूर्यविनायक नगरपालिका वडा नं. ४ र ७ को संगमस्थल अनन्तलिंगेश्वर महादेव परिसरमा निर्माण भएको सप्तऋषिको प्राण प्रतिष्ठासहित उद्घाटन कार्यक्रममा सांसद महेश बस्नेतसहित वडा नं. ४ का वडाअध्यक्ष कमलनाथ आचार्य, वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटालगायतका जनप्रतिनिधि र स्थानीयको सहभागी थिए।


निषेधाज्ञाकै बीच मूर्ति प्राणप्रतिष्ठा र उद्घाटनमा पुगेका सांसद महेश बस्नेत (बीचमा) ।

महिलाहरुको महान पर्व तीजलाई लक्षित गरी निर्माण गरिएको मुर्ति आइतबार ऋषि पञ्चमी पर्वको लागि शनिबार उद्घाटन गरिएको आयोजकले जनाएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण औपचारिक रुपमा कार्यक्रम नगरीकन निषेधाज्ञाको पूर्ण पालना गर्दै सामाजिक दूरी साथ उपस्थित भइ उक्त प्राण प्रतिष्ठा गरिएको आयोजकको दावी छ। 

महिलाहरूको महान चाड हरितालिका तीज र ऋषिपञ्चमी अर्थात नारीहरुले सप्तऋषिहरुको पूजाअर्चना गर्ने विशेष दिनलाई मध्यनजर गरी अनन्तलिङ्गेश्वर महादेव मन्दिरको अनन्तकुण्डसँगै नवनिर्मित सप्तऋषी मन्दिरको विधिवत् प्राण प्रतिष्ठा गरिएको स्थानीयले बताए।

निषेधाज्ञाकै बीच सांसदसमेतको उपस्थितिमा मुर्तिको प्राणप्रतिष्ठा र उद्घाटन गरिएको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी नभएको बताए। उनले शनिवार नभई केही दिनअघि सो कार्यक्रम गरेको हुनसक्ने बताउँदै भने, ‘निषेधाज्ञामा त्यस्तो कार्यक्रम गर्न पाइँदैन। हिजो शनिबार नभई केही दिन अघि भएको होला।’

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले मुर्तिको प्राण प्रतिष्ठा गरेको स्विकार्दै ठूलो जमघट नगरी सामान्य रुपमा कार्यक्रम आयोजना भएको बताए। उनले भने, ‘महिलाहरुको तीज पर्व, ऋषि पञ्चमीका साथै शनिबार साइत पनि भएकोले औपचारिक कार्यक्रम नगरी सामान्य रुपमा कार्यक्रम गरिएको हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.