|

जनकपुरधाम : प्रदेश २ सरकारले संचालन गरेको धनुषाको नगराइन नगरपालिका-५ गंगुलीस्थित आइसोलेसन सेन्टरमा सफाईकर्मी (स्वीपर) ले कोरोना संक्रमितको ज्वरो नापेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

आइसोलेसनमै बसेका एक कोरोना संक्रमितले सफाईकर्मीले ज्वरो नापिरहँदा भिडियो बनाएका हुन्‌। भिडियोमा करिब ४० वर्षीय पुरुषले आफु स्वीपर भएको स्वीकार गरेका हुन्। उनले डाक्टरले थर्मल गण दिएर ज्वरो नाप्न पठाएको बताएका छन्।

गंगुलीमा रहेको मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा प्रदेश सरकारले सुरुमा क्वारेन्टाइन संचालन गरेको थियो। पछि त्यसलाई आइसोलेसन सेन्टरमा परिणत गर्‍यो। एक सय संक्रमितलाई राख्ने क्षमता रहेको उक्त आइसोलेसनको व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ। 

आइसोलेसनमा विगत ७ दिनदेखि बस्दै आएका एक युवकले भने, ‘डाक्टरहरु डरले भित्र आउँदैनन्, सरसफाई कर्मचारीलाई थर्मल गण दिएर ज्वरो नाप्न पठाएपछि भिडियो बनाएँ।’ उनले आफु आइसोलेसनमा आएको सात दिन बितिसक्दा पनि कुनै डाक्टर भित्र नआएको सुनाए। डाक्टरहरूले आइसोलेसनमा बसेर भत्ता पकाउने काम मात्र गरिरहेको उनको आरोप छ।

लापरबाही गर्ने स्वास्थ्यकर्मीको टिमलाई हटाइयो

स्वीपरबाट कोरोना संक्रमितको ज्वरो नाप्न लगाएको भिडियो सार्वजनिक भएपछि सो समयमा खटेका स्वास्थ्यकर्मी टिमलाई आइसोलेसन सेन्टरबाट हटाइएको छ।

कोभिड–१९ धनुषाका संयोजक डा. जामुन सिंहले आइसोलेसनमा बसेका कोरोना संक्रमितको ज्वरो नाप्न स्वीपरलाई पठाउने स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पताल झिकाएको जानकारी दिए। उनले सो विषयमा सत्यतथ्य छानविन गरी २४ घण्टाभित्र सार्वजनिक गर्ने पनि बताए।

उक्त आइसोलेसनमा रिक्त रहेको स्वाथ्यकर्मीको ठाउँमा अर्को स्वास्थ्यकर्मीको टोली आज पठाउन लागेको पनि संयोजक सिंहले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.