|

काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षत्रीले विखण्डनवादी शक्तिहरुले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिएको र केही समूहले हतियार उठाउने धम्की दिइरहेकोले त्यस्ता शक्तिलाई निस्तेज गर्न सेना तयार रहेको बताएका छन्। सेना दिवसको अवसरमा जंगी अड्डामा सम्बोधन गर्दै उनले राष्ट्रिय हित विरुद्ध आन्तरिक र बाह्य सुरक्षा चुनौतीको सामना गर्न कुनै कसर बाँकी नराख्ने बताएका थिए।

‘अहिले केही विखण्डनबादी शक्तिहरुले साम्प्रदायिकता भड्किने अभिव्यक्तिहरु दिनुको साथै केही समूहहरुले हतियार उठाउने धम्की दिइरहेको छ’, प्रधान सेनापति क्षेत्रीले भने ‘कुनै पनि अवाञ्छनीय गतिविधिहरुलाई निस्तेज गर्न नेपाली सेना हरहमेसा तयारी हालतमा रहेको छ।’

प्रधान सेनापति क्षत्रीले समयानुसारको परिवर्तनलाई नेपाली सेनाले सदैव आत्मसाथ गर्दै आएको पनि बताए। उनले मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको परिधिमा रहेर सरकारले दिएका सबै जिम्मेवारी पूरा गर्न तयार रहेको पनि बताए।

‘राष्ट्रिय हित विरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीहरुको सामना गर्न, नेपाली सेनाले मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनले निर्दिष्ट गरेका नियम र कानूनको परिधिभित्र रही नेपालको संविधान र नेपाल सरकारद्वारा दिइने सबै जिम्मेवारीहरु पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनौं’, उनले भने।

उनले सैनिक कुटनीतिको माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनहरुसंग संयुक्त तालिम तथा अभ्यासहरु सञ्चालन भइरहेको जानकारी दिए। उनले पहिलो पटक मित्रराष्ट्र श्रीलंकासँग सयुक्त अभ्यास भइसकेको र अब बंगलादेश र चीनसँग पनि संयुक्त अभ्यास गर्ने योजना रहेको समेत बताए।

प्रधान सेनापति क्षत्रीले बिहीबार नै छाउनीस्थित सैनिक वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए। सोही अवसरमा उनले नेपाली सेनाका दिवंगत सैनिक व्यक्तिहरुको नामावली अंकित ‘वीर स्तम्भ’ अनावरण गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.