कोटेश्‍वर र महाराजगञ्‍जमा सबैभन्दा धेरै संक्रमित

|

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको 'हटस्पट' बन्दै गएको छ। सरकारले औपचारिक रुपमा उपत्यकामा समुदायस्तरमा संक्रमण फैलिएको नस्वीकारे पनि अवस्था डरलाग्दो बन्दै गएको छ। अहिले काठमाडौंका दर्जनौं टोलका घर घरमा कोरोना पुगिसकेको छ। एकै परिवारका ५ देखि ७ जना सदस्य पनि संक्रमित भएका छन्। 

संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि प्रधानमन्त्रीसमेत उपस्थित सिसिएमसीको बैठकमा उपत्यकामा अवस्था भयावह भएकाले नियन्त्रणका लागि गम्भीर हुनु पर्ने 'ब्रिफिङ' गरेको थियो।

हाल उपत्यकामा कडाइ साथ निषेधाज्ञा लागु गरिए पनि संक्रमण भने दिनदिनै बढ्दै गएको छ। उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा धेरै काठमाडौंमै संक्रमित छन्। 
काठमाडौंमा अहिले देशमै सबैभन्दा धेरै २ हजार २ सय ९३ सय संक्रमित भेटिएका छन्। जसमध्ये हालसम्म १ सय ८८ जन मात्रै निको भएका छन्। यस्तोमा काठमाडौंमा अहिले पनि २१ सय ५ जना सक्रिय संक्रमित छन्। 

जसमा आधाभन्दा धेरै त होम आइसोलेसनमै छन्। आधाको संख्यामा मात्रै अस्पतालको आइसोलेसनमा छन्। धेरैजसो संक्रमित घरमै हुँदा चिकित्सकहरुलाई त्यहाँसम्म पुगेर अनुगमन गर्न पनि समस्या भएको छ।

काठमाडौँमा कोरोना संक्रमितको दिनप्रतिदिन बढ्दै गइरहेको छ। पछिल्लो  तथ्यांक अनुसार काठमाडौँमा मात्रै ३२ वडामा संक्रमण फैलिइसकेको छ।

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले भने नेपालमा अहिलेसम्म कोरोना समुदायसम्म नपुगिसकेको जिकिर गरेका छन्। उनले नियमित प्रेस ब्रिफिङमै कोरोना समुदायमा गएमा सम्हाल्न नसकिने बताए। 

कहाँ कति संक्रमित 

जसमध्ये कोटेश्‍वर र महाराजगञ्‍ज क्षेत्रमा धेरै संक्रमण देखिएको छ।  कोटेश्‍वर क्षेत्रमा हालसम्म १२३ जनामा सक्रमण देखिएको छ भने महाराजगन्ज  क्षेत्रमा ११९ जनामा सक्रमण देखिएको छ।

काठमाडौंमा सुरुमा तराईका जिल्लाबाट आएका मानिसहरुबाट कोरोना सरेको बताइन्छ। कोटेश्‍वर क्षेत्रमा नेपालगञ्‍जबाट आएका एकजनाबाट स्थानीय संक्रमण भएर कोरोना समुदायमा पुगेको छ।

स्थानीय जनप्रतिनिधिहरुले काठमाडौंमा कपाल काट्ने, फर्निचरमा काम गर्नेसहित तराईका जिल्लाबाट आएकाहरूबाट कोरोना सरेको बताइरहेका छन्। अर्कातिर सुरक्षाकर्मी र समूहमा बस्नेहरूबाट पनि केही ठाउँमा कोरोना सरेको छ। 

नक्सालमा ४६, बालुवाटार क्षेत्रमा ६५, हाँडीगाउँमा ५२, चाबहिलमा ३१, कालिमाटी क्षेत्रमा ६३, कलंकी क्षेत्रमा ९१, महावौद्ध क्षेत्रमा ७४, बागबजार क्षेत्रमा ५६, सोह्रखुट्टे क्षेत्रमा ९४, स्वयम्भू क्षेत्रमा ४१, डिल्लीबजार क्षेत्रमा ४४, त्रिपुरेश्‍वर क्षेत्रमा ४५, टेकु क्षेत्रमा ३२, बानेश्‍वर क्षेत्रमा ७६ र लैनचौर क्षेत्रमा ४९ जनामा सक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार हाल उपत्यकाका  सबै ठाउँमा समुदायस्तरमा संक्रमण देखिइसकेको छ। यसलाई अहिले नै नियन्त्रण गर्न नसके अवस्था भयावह हुने उनी बताउँछन्। 

'उपत्यकाको हालको अवस्था नै एकदमै भयावह छ, लगभग सबै ठाउँमा संक्रमण फैलिसकेको छ', उनले भने, 'अहिले नै सजग भएर नियन्त्रणमा ल्याउन सकिएन ठीक होला, तर हामीले यसलाई रोक्न नसके अवस्था एकदमै जटिल हुन्छ।'

आइतवार साँझसम्मको विवरण काठमाडौँमा कोरोना संक्रमितको संख्या २२ सय ९३ पुगेको छ। जसमध्ये १२ जना संक्रमितको मृत्यु भइसकेको छ। उपचारपछि कोरोनामुक्त हुनेको संख्या १ सय १० पुगेको छ। 

त्यस्तै, संक्रमितमध्ये पहिचान खुलेका १ सय ६२ जना छन् भने पहिचान नखुलेका मात्रै २ सय ३८ छन्। काठमाडौँमा संक्रमण तीव्ररूपमा फैलिएसँगै सरकारले एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको छ। आइतवार मात्रै काठमाडौं जिल्लामा १६० जना संक्रमित थपिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.